सवा तीन करोड लागतमा लीलाराम न्यौपाने आकस्मिक कक्ष निमार्ण, मुख्यमन्त्री शङ्कर पोखरलद्धारा उद्धघाटन

0
Shares

रुपन्देहीको सिद्धार्थनगरस्थित भीम अस्पताल परिसरमा निर्मित लीलाराम न्यौपाने आकस्मिक कक्षको उद्घाटन भएको छ ।

लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानद्वारा निर्मित आकस्मिक कक्षको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरलले उद्घघाटन गरेका हुन् ।

समाजसेवी लीलाराम न्यौपानेको ९२ औँ जन्मजयन्तीका अवसरमा आयोजित सो समारोहमा प्रमुख अतिथि पोखरेलले भवनभित्र स्थापित लीलाराम न्यौपानेको सालिक अनावरण गरे ।

पोखरेलले समाजसेवी लीलाराम न्यौपाने र उनका छोराहरुद्धारा गरिएको यस किसिमको पुनीत कार्यले समाज लाभान्वित हुने बताउँदै धन हुनेहरूले न्यौपाने परिवारबाट प्रेरणा लिनुपर्ने बताए ।

प्रतिष्ठानद्वारा तीन करोड पच्चीस लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न उक्त भवनमा सम्पूर्ण उपकरण जडानसहितको पच्चीस शैय्या रहेको छ ।

प्रतिष्ठानका महासचिव विष्णु न्यौपानेले अतिथिहरूको स्वागत गर्दै समाजसेवी पिताले देखाउ नुभएको बाटोमा हिँड्ने प्रयत्न गरेको बताए ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष शोभाकर (हरि) न्यौपानेले भीम अस्पताल विकास समितिका अध्यक्ष एकराज वि. क. लाई नवनिर्मित आकस्मिक कक्ष (भवन)को साँचो हस्तान्तरण गरे ।

सो अवसरमा सिद्धार्थ नगर नगरपालिकाकातर्फबाट प्रमुख हरि प्रसाद अधिकारीद्वारा समाजसेवी लीलाराम न्यौपानेकी धर्मपत्नी कुन्तीदेवी न्यौपानेलगायत छोराहरु शोभाकर (हरि), दुर्गा, विष्णु र शशि न्यौपानेलाई सम्मान गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष शोभाकर (हरि) न्यौपानेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रतिनिधि सभाका सदस्य एवम् विपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक एवम् पूर्व मन्त्री बालकृष्ण खाँण, पूर्व मन्त्री दीपक बोहोरा, लुम्बिनी प्रदेश सभाका सदस्य द्वय डा. कृष्ण न्यौपाने र सन्तोष पाण्डेको उपस्थित रहेको थियो ।

रूपन्देही जिल्ला समन्वय समितिका प्रमुख तथा भीम अस्पताल विकास समितिका अध्यक्ष एकराज वि.क., सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारी, भीम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शकुन्तला गुप्ता र यादव भट्टराईलगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा सहभागी भएकाहरुले समाजसेवी लीलाराम न्यौपानेको योगदानको चर्चा गर्दै सिद्धार्थनगरको मात्रै नभएर राष्ट्रकै अनुकरणीय तथा प्रशंसायोग्य व्यक्ति भएको उल्लेख गरे ।

प्रतिष्ठानले समाजसेवा, शिक्षा, साहित्य, संस्कृति, धर्म, खेलकुदलगायतका क्षेत्रमा उल्लेखनीय योगदान गर्ने संस्था र प्रतिभालाई सम्मान, पुरस्कार र सहयोग प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।