आर्थिक वर्ष सकिन २० दिन बाँकी, विकास खर्च ३५ प्रतिशतमै सीमित


काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ सकिन २० दिन मात्र बाँकी रहँदा विकास खर्च करिब ३५ प्रतिशत मात्र भएको छ । चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेटमध्ये असार १२ गतेसम्ममा ३४.८७ प्रतिशत मात्र पुँजीगत खर्च भएको हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार विकास निर्माणको काममा खर्च हुने पूँजीगततर्फ १ खर्ब ४२ अर्ब २३ करोड ६८ लाख पुगेको छ । चालु आवका लागि ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख पूँजीगत खर्च गर्ने लक्ष्य तय गरिएको थियो ।

त्यसैगरी वित्तीय व्यवस्थातर्फ ३ खर्ब १२ अर्ब ९९ करोड २३ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयको विवरणमा उल्लेख छ । जुन वार्षिक लक्ष्यको ८३.४१ प्रतिशत मात्र हो । यो वर्ष वित्तीय व्यवस्थातर्फ कुल ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख खर्च गर्ने लक्ष्य लिएको थियो । वित्तीय व्यवस्था विभिन्न ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि खर्च गरिन्छ ।

चालु तर्फ ९ खर्ब ४९ अर्ब ७५ करोड ९५ लाख खर्च भएको छ । जुन वार्षिक लक्ष्यको ८०.४२ प्रतिशत हो । यो वर्ष चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य रहेको थियो ।

चालु आर्थिक वर्ष पूरा हुन २० दिन बाँकी हुँदा सरकारले ११ खर्ब १२ अर्ब ४८ करोड ४६ लाख राजस्व सङ्कलन गरेको छ । जुन लक्ष्यको ७५.१७ प्रतिशत राजस्व संकलन गरेको हो । सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । सरकारले अबको २० दिनमा ३ खर्ब ६७ अर्ब ५१ करोड राजश्व सङ्कलन गर्नुपर्नेछ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार, कर राजस्व सङ्कलनतर्फ १० खर्ब १० अर्ब १६ करोड तीन लाख सङ्कलन भएको छ । जुन लक्ष्यको ७६.२० प्रतिशत रहेको छ । यो वर्ष कर राजस्वतर्फ १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख सङ्कलन गर्ने लक्ष्य रहेको थियो ।

त्यस्तै, गैरकर राजस्वतर्फ १ खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख सङ्कलन गर्ने लक्ष्य राखेकोमा हालसम्म १ खर्ब दुई अर्ब ३२ करोड ४३ लाख प्राप्त भएको छ । जुन वार्षिक लक्ष्यको ६६.२७ प्रतिशत हो ।

यो वर्ष अनुदानतर्फ ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ प्राप्त गर्ने लक्ष्य रहेकामा समिक्षा अवधीभर २४ अर्ब ११ करोड १२ लाख मात्रै प्राप्त भएको छ । जुन लक्ष्यको ४११ प्रतिशत हो ।

अन्य प्राप्तिमा ६ अर्ब ५० करोड ५३ लाख सङ्कलन भएको छ । यससँगै सरकारको कुल आम्दानी ११ खर्ब ४३ अर्ब १० करोड ११ लाख पुगेको छ । जुन वार्षिक लक्ष्यको ७४.५४ प्रतिशत हो ।

प्रकाशित मिति: १४ असार २०८३, आइतबार  ११ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।