पूँजी बजारमा लगानीकर्ताको लागि सूचना नै सम्पत्ति हो :अध्यक्ष ढुङगाना


नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म राज ढुंगानाज्यूले पूँजी बजारमा लगानीकर्ताको लागि सूचना नै सम्पत्तिको रूपमा रहने बताएका छन् । शेयर बजारको लगानीको प्रमुख आधार सुचना भएको हुँदा आर्थिक पत्रकारहरूले पूर्वाग्राह नराखी सूचना सम्प्रेषण गर्नु पर्ने उनको सुझाव रहेको छ ।

ढुंगानाले आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारहरूको क्षमता अभिवृद्धि गर्दै बजारका विषयवस्तुहरूको स्पष्ट एवं गहिरो ज्ञानवृद्धिका लागि यस प्रकारको कार्यक्रमले विशेष महत्व राख्ने बताए । पूँजी बजार प्राविधिक एवं संवेदनशिल भएको हुनाले सूचना सम्प्रेषणमा विशेष सावधानी अपनाउन पत्रकारहरूलाई उनले आग्रह समेत गरे ।

सूचना सम्प्रेषणमा हुने सानो असावधानीले पनि बजारमा निकै ठूलो असर पर्ने र सर्वसाधारणको सम्पतिमा क्षण भरमै क्षयीकरण हुने सम्भावना रहेको हुँदा यस क्षेत्रमा समाचार लेख्दा विषयवस्तुको गाम्भिर्यता बुझी सत्य र तथ्यपूरक सूचना सम्प्रेषणमा मात्र जोड दिनुपर्ने उनको भनाइ छ । यसले पत्रकारको क्षमता अभिवृद्धि हुने र समग्रमा पत्रकारिता जगतको नै विश्वसनियता एवं प्रभावकारिता बढ्ने उनको विश्वास रहेको छ ।

बोर्डको पछिल्लो प्रयासका कारण प्राथमिक बजारको स्वरूप र मर्चेन्ट बैंकरको भूमिका विस्तार हुँदै गएको सन्दर्भमा स्वस्थ्य प्रतिष्पर्धा गर्न उनको निर्देशन थियो । मर्चेन्ट बैंकरसँग रहेका समस्याको समाधान गर्दै यस क्षेत्रको विकास विस्तारका लागि बोर्ड तयार रहेको समेत उनको भनाइ छ । धितोपत्र व्यवसायीहरूबाट सामाजिक उत्तरदायित्व सम्बन्धी गतिविधि सञ्चालन सम्बन्धमा समेत नीतिगत व्यवस्था समेत उनले बताए । कार्यक्रममा बोर्डका उप कार्यकारी निर्देशक रूपेश के.सी. र मर्चेन्ट बैंकरकातर्फबाट पारसमणि ढकालले बुक बिल्डिङ्गसम्बन्धी आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।