समयमै निर्माण सम्पन्न नगर्ने ओमबुद्ध कन्स्ट्रक्सन सहित ९ निर्माण कम्पनी कालोसूचीमा


काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमा काम सम्पन्न् नगर्ने विभिन्न ९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको यस निकायले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीलाई कालोसूचीमा राखेको हो ।

कार्यालयले ओमबुद्ध कन्स्ट्रक्सन प्रा।लि। (दोलखा) लाई ३ वर्षका लागि कालोसूचीमा राखेको छ। यसैगरी, लोहनी एण्ड ब्रदर्श प्रा।लि। (चितवन), सेभिका कन्स्ट्रक्सन एण्ड ईन्जिनियरिङ कन्सल्टेन्सी (सुर्खेत) र राजेन्द्ररथेगिम जे।भी। (कैलाली) लाई १ वर्ष ६ महिनाका लागि प्रतिबन्ध लगाइएको छ ।

त्यस्तै, १ वर्षको अवधिका लागि कालोसूचीमा पर्नेहरूमा कृष्ण कन्स्ट्रक्सन (जाजरकोट), सेभिकारबेहडाबाबा जे।भी। (कैलाली), विजयश्वरी निर्माण सेवा (जाजरकोट), दिनकर कन्स्ट्रक्सन प्रा।लि। (सर्लाही) र ललिता अम्बाय सप्लायर्स एण्ड कन्स्ट्रक्सन कम्पनी (इलाम) रहेका छन् ।

यी कम्पनीहरूलाई विभिन्न सार्वजनिक निकायहरूको सिफारिसमा कालो सूचीमा राखिएको हो ।

कालो सूचीमा राखिएको अवधिभर ती निर्माण व्यवसायी वा आपूर्तिकर्ताहरूले मुलुकभरका कुनै पनि सार्वजनिक निकायको खरिद कारबाही वा बोलपत्र प्रक्रियामा भाग लिन पाउने छैनन् ।

प्रकाशित मिति: १७ असार २०८३, बुधबार  ११ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।