सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित


स्पिन बोल्दाक । अफगानिस्तानको दक्षिणी सीमावर्ती व्यापारिक केन्द्रस्पिन बोल्दाकमा गाडीका पार्टपुर्जा आयात–व्यापार क्षेत्रीय द्वन्द्वका कारण ठप्प भएको छ ।

कन्दाहार प्रान्तमा लामो समयदेखि फस्टाउँदै आएको यो व्यापार पाकिस्तानसँगको सीमा बन्द र मध्यपूर्वको तनावले गम्भीर रूपमा प्रभावित भएको हो ।

पाकिस्तानसँगको सीमापार हिंसापछि अक्टोबरदेखि सीमा लगभग पूर्ण रूपमा बन्द हुँदा आयात मार्ग अवरुद्ध भएको थियो । विकल्पका रूपमा इरानको बन्दर अब्बास हुँदै तथा संयुक्त अरब इमिरेट्समार्फत ढुवानी गरिए पनि पछिल्लो मध्यपूर्व युद्धपछि ती मार्ग पनि प्रभावित भएका छन् ।

व्यवसायीका अनुसार जापानलगायत देशबाट आउने पार्टपुर्जा पहिले पाकिस्तान हुँदै स्पिन बोल्दाक पुग्थे, जहाँ गाडी एसेम्बल तथा मर्मतकार्य हुन्थ्यो । तर अहिले ढुवानी लागत अत्यधिक बढेको र आपूर्ति शृङ्खला अवरुद्ध भएको छ ।

व्यवसायी भन्छन्, मध्यपूर्वमा तनाव बढेपछि इरान वरपरको व्यापार मार्ग तथा ‘स्टे«ट अफ होर्मुज’ हुँदै हुने ढुवानी पनि प्रभावित भएको छ, जसले सङ्कट अझ गहिरो बनाएको छ ।

ढुवानी कम्पनीका अनुसार युएइको प्रमुख व्यापारिक केन्द्र जेबेल अली बन्दरगाहमा ढिलाइ बढ्दै गएको छ । यसका कारण जापान र युएइबीचको नियमित आपूर्ति प्रणालीसमेत प्रभावित भई अवरुद्ध भएको छ ।

स्थानीय व्यवसायीका अनुसार कन्टेनर लागत दुई हजार अमेरिकी डलरबाट बढेर आठहजार डलरसम्म पुगेको छ भने धेरै कन्टेनर युएइ र जापानमै अड्किएका छन् ।

विश्व बैङ्कले अफगानिस्तानलाई बाह्य आर्थिक झट्काको उच्च जोखिममा रहेको देश भन्दै आयात–निर्यात असन्तुलन बढ्दै गएको चेतावनी दिएको छ ।

स्पिन बोल्दाक बजारमा काम गर्ने हजारौँ मजदुर र व्यापारी प्रभावित भएका छन् । कार निर्माण, मर्मत र बिक्रीसम्बन्धी गतिविधि रोकिएपछि धेरैले रोजगारी गुम्ने जोखिम सामना गरिरहेका छन् ।

व्यवसायीले क्षेत्रीय तनाव समाधान भई अन्तरराष्ट्रिय जलमार्ग र सीमा मार्ग पुनः खुल्ने आशा व्यक्त गरेका छन् ।

प्रकाशित मिति: २१ असार २०८३, आइतबार  १४ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।