काठमाडौँ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२\८३ मा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
उपभोक्ता मूल्यका आधारमा गरिएको यो अनुमानले गत वर्षको तुलनामा अर्थतन्त्रको आकार बढेको देखाएको हो । यद्यपि आर्थिक वृद्धिदर भने ३.६५ प्रतिशतमा सीमित रहने अनुमान कार्यालयको छ ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ११ अर्ब रुपैयाँ रहेको कार्यालयको भनाई छ । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा अर्थतन्त्रको आकार ५७ खर्ब ६० अर्ब रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसले पछिल्ला वर्षमा अर्थतन्त्रको आकार विस्तार हुँदै गएको देखिन्छ ।
राष्ट्रिय लेखा तथ्यांक अनुसार हाल प्रकाशित गरिएको अनुमान आर्थिक वर्ष २०७६/७७ को स्थिर मूल्यलाई आधार वर्ष मानेर तयार गरिएको हो । स्थिर मूल्यका आधारमा चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.६५ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ भने उपभोक्ताको मूल्यका आधारमा आर्थिक वृद्धिदर ३.५४ प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।
यसअघि आर्थिक वर्ष २०८१/८२ मा आधारभूत मूल्यमा आर्थिक वृद्धिदर ३.५० प्रतिशत रहेको अनुमान गरिएको थियो । आर्थिक वर्ष २०८०/८१ मा यो वृद्धिदर ३.३८ प्रतिशत रहेको थियो । त्यसैगरी उपभोक्ता मूल्यका आधारमा आर्थिक वर्ष २०८१/८२ मा वृद्धिदर ४.४३ प्रतिशत रहेको अनुमान गरिएको छ भने आर्थिक वर्ष २०८०/८१ मा ३.६६ प्रतिशत कायम भएको कार्यालयले जनाएको छ ।
क्षेत्रगत रूपमा हेर्दा कृषि क्षेत्रको वृद्धिदर चालु आर्थिक वर्षमा ३.९० प्रतिशत रहने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर ३.०४ प्रतिशत रहेको संशोधित अनुमान सार्वजनिक गरिएको थियो । कृषि उत्पादनमा सुधारसँगै यस क्षेत्रको योगदान केही बढ्ने अपेक्षा गरिएको छ ।
गैरकृषि क्षेत्रको वृद्धिदर भने कृषि क्षेत्रको तुलनामा उच्च रहने देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार चालु आर्थिक वर्षमा गैरकृषि क्षेत्र ४.५४ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा गैरकृषि क्षेत्रको वृद्धिदर ४.१२ प्रतिशत रहेको अनुमान गरिएको कार्यालयको भनाई छ ।
त्यस्तै, अर्थतन्त्रलाई प्राथमिक, द्वितीय र सेवा क्षेत्रका आधारमा विश्लेषण गर्दा सेवा क्षेत्रले सबैभन्दा बढी वृद्धि गर्ने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा प्राथमिक क्षेत्रको वृद्धिदर ३.११ प्रतिशत, द्वितीय क्षेत्रको ०.०६ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ४.५४ प्रतिशत रहने अनुमान कार्यालयले गरेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा सेवा क्षेत्र सामान्य सुधार आउँदा अन्य दुई क्षेत्रको वृद्धिदरमा भने सामान्य गिरावट आएको देखिन्छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा प्राथमिक क्षेत्रको वृद्धिदर ३.०१ प्रतिशत, द्वितीय क्षेत्रको ३.४० प्रतिशत र सेवा क्षेत्रको ४.३६ प्रतिशत रहेको संशोधित अनुमान सार्वजनिक गरिएको थियो । चालु वर्षको अनुमानले सेवा क्षेत्रले निरन्तर सकारात्मक वृद्धि कायम राख्ने देखाए पनि औद्योगिक अर्थात् द्वितीय क्षेत्रको वृद्धि निकै सुस्त रहने संकेत देखिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको विवरणले पछिल्ला वर्षमा अर्थतन्त्रको आकार विस्तार हुँदै गएको देखाए पनि आर्थिक वृद्धिदर भने मध्यम रहेको संकेत गरेको छ । कृषि र सेवा क्षेत्रले सकारात्मक योगदान दिए पनि औद्योगिक क्षेत्रको सुस्त वृद्धिले समग्र आर्थिक वृद्धिदरमा प्रभाव परेको कार्यालयको प्रतिवेदनमा भनिएको छ । आगामी दिनमा उत्पादनमूलक क्षेत्रको विस्तार, निजी लगानी वृद्धि तथा औद्योगिक गतिविधिमा सुधार आए आर्थिक वृद्धिदर थप सुदृढ हुन सक्ने अपेक्षा कार्यालयको छ ।










प्रतिक्रिया