ऊर्जामन्त्री श्रेष्ठको सक्रियता : मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरु


काठमाडौँ । मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरु भएको छ । ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री विराजभक्त श्रेष्ठको सक्रियतामा शनिबार दिउँसो ३ बजेदेखि विद्युत प्रवाह सुरु भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

मार्कीचोक भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनका लागि मन्त्री श्रेष्ठले फिल्डमै गएर पहल गरेका थिए । उनले स्थानीय पालिकाका जनप्रतिनिधि र स्थानीयसँग सम्वाद गरेका थिए ।

२२० केभी प्रसारण लाइन सञ्चालन आइ विद्युत प्रवाह सुरु भएसँगै चितवन, हेटौँडा, बुटवल हुँदै कोहलपुरसम्मका नागरिकका लागि विद्युत सेवा सहज हुनेछ । ‘यससँगै क्षेत्रीय विद्युत् प्रसारण थप सन्तुलित, भरपर्दो र प्रभावकारी बन्नेछ। ट्रिपिङ तथा ‘झ्याप–झ्याप’ बत्ती जाने समस्या न्यूनीकरणमा यो प्रसारण लाइनले महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ,’ मन्त्री श्रेष्ठले भने ।

विशेषगरी बर्खायाममा यस क्षेत्रका निजी क्षेत्रबाट सञ्चालित जलविद्युत् आयोजनाहरूले उत्पादन गरेको सम्पूर्ण विद्युत् सहज रूपमा भरतपुर हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न अब ठूलो सहयोग पुग्ने उनले बताए । यसअघि कम क्षमतामा पावर हाउस सञ्चालन गर्नुपर्ने बाध्यता समेत हट्दै जाने मन्त्री श्रेष्ठको भनाइ छ ।

निजी क्षेत्र र सरकारबीचको सफल सहकार्यबाट उपयोग हुन नसकेको स्वच्छ ऊर्जा अब राष्ट्रिय प्रणालीमा थप प्रभावकारी रूपमा समाहित हुने मन्त्रालयले जनाएको छ । ‘यो नेपालको ऊर्जा आत्मनिर्भरता र समृद्धिको यात्रामा अर्को महत्त्वपूर्ण कदम हो,’ मन्त्री श्रेष्ठले भनेका छन् ।

तनहुँको मार्कीचोकस्थित न्यू मर्स्याङ्दी सबस्टेसनदेखि चितवनको आँपटारीस्थित न्यू भरतपुर सबस्टेसनसम्म २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत विद्युत् प्रवाह सुरु भएको हो ।

प्रकाशित मिति: २८ असार २०८३, आइतबार  ११ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।