१५९ म्यानपावर कम्पनी कारबाहीमा


काठमाडौँ। वैदेशिक रोजगार विभागले १५९ म्यानपावर कम्पनीलाई कारबाही गरेको छ ।

विभागले अनुमति नलिइ भारतस्थित विमानस्थल प्रयोग गरेर नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने कम्पनीहरूलाई कारबाही गरेको हो ।

विभागका अनुसार वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इजाजतप्राप्त संस्थाले स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था पालना भए–नभएको विषयमा अध्ययन तथा अनुगमन गर्न २०८२ चैत १ गतेदेखि २०८३ जेठ मसान्तसम्म श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकहरूको उडान विवरण माग गरिएको थियो ।

सञ्चालनमा रहेका एक हजार ११७ इजाजतप्राप्त संस्थामध्ये ६७८ संस्थाले मात्रै माग गरिएको विवरण बुझाएका थिए । विवरण बुझाएका संस्थामध्ये १५९ संस्थाले विभागको स्वीकृतिबिनै भारतका विमानस्थल प्रयोग गरी श्रमिक पठाएको पाइएको छ ।

त्यसैगरी, विभागले माग गरेको विवरण नै उपलब्ध नगराउने ४३९ वटा म्यानपावर कम्पनीलाई पनि वैदेशिक रोजगार ऐनको दफा ३७ उल्लंघन गरेको ठहर गर्दै पहिलो पटक सचेत गराउँदै पुनः विवरण बुझाउन निर्देशन दिएको छ ।

वैदेशिक रोजगार ऐनमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई स्वदेशको विमानस्थल प्रयोग गरेर पठाउनुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति: २८ असार २०८३, आइतबार  १२ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।