काठमाडौँ । सरकारले कर्णालीमा विद्युत आपूर्तिमा भइरहेको अवरोधलाई समाधान गर्न यान्त्रिक क्रेन पठाउने निर्णय गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको पहलमा कर्णाली प्रदेशमा लाइन ट्रिपिङका कारण पटक–पटक विद्युत अवरोध हुने समस्या र मर्मत कार्यका लागि आवश्यक यान्त्रिक क्रेन पठाउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।
मन्त्री श्रेष्ठ दुई साताअघि तीन प्रदेशका पाँच जिल्लाको स्थलगत अनुगमनमा जाँदा सुर्खेतलगायत कर्णाली प्रदेशमा लाइन ट्रिपिङका कारण पटक–पटक विद्युत अवरोध हुने समस्या र मर्मत कार्यका लागि आवश्यक यान्त्रिक क्रेनको अभावबारे जानकारी प्राप्त भएको थियो । यस विषयमा नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश प्रमुखले मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएका थिए ।
काठमाडौँ फर्केलगत्तै मन्त्री श्रेष्ठले विद्युत अवरोध समाधानका लागि आवश्यक परेको यान्त्रिक क्रेन पठाउन नियामक निकायसँग समन्वय गरेका थिए ।
‘उक्त समस्यालाई सम्बोधन गर्न गरिएको समन्वयले अब सार्थकता पाउँदैछ। आवश्यक प्रक्रिया र सर्भिसिङ पूरा भएपछि नेपाल विद्युत प्राधिकरणको खरिपाटीस्थित ट्रान्सफर्मर वर्कशपमा रहेको यान्त्रिक क्रेन कर्णाली प्रदेशलाई उपलब्ध गराउने निर्णय भएको छ,’ मन्त्री श्रेष्ठले भने ।
यससँगै सेवा अवरुद्ध हुँदा अन्य प्रदेशबाट उपकरण ल्याउनुपर्ने बाध्यता कम भई विद्युत मर्मत तथा सेवा प्रवाह थप छिटो, सहज र प्रभावकारी हुने मन्त्री श्रेष्ठको भनाइ छ । ‘सार्वजनिक सेवाका व्यावहारिक समस्या समाधान गर्ने प्रयास निरन्तर जारी छ,’ उनले भने ।










प्रतिक्रिया