कुखुरापालक किसानलाई ५० करोड राहत


ललितपुर । सरकारले बर्डफ्लुको कारण कुखुरा मरेपछि पीडित किसानलाई रु ५० करोड ७१ लाख राहत उपलब्ध गराएको छ । पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा मुकुल उपाध्यायका अनुसार हालसम्म झापा, मोरङ, सुनसरी, चितवन, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोका १०५ किसानलाई उक्त राहत उपलब्ध गराइएको हो ।

बर्डफ्लु नियन्त्रणका लागि पशु विभागको मातहतमा नष्ट गरिएका कुखुराको क्षतिपूर्तिस्वरुप किसानले पक्रिया पूरा गरेर कागजात बुझाएमा क्षतिको ७५ प्रतिशत राहत प्रदान गर्ने गरेको छ ।

विभागको तथ्याङ्कअनुसार सङ्क्रमण नियन्त्रणका लागि पछिल्लो तीन महिना देशभर करिब सात लाख ५४ हजार ५०० पन्छी, १० लाख ९१ हजार ३०३ अण्डा तथा दुई लाख ४३ हजार ६३५ किलो दाना नष्ट गरिएको छ । डा उपाध्यायका अनुसार तीन महिनायता बर्डफ्लु फैलिएको ११ जिल्ला मध्ये झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवनलगायत जिल्लामा पूर्णरुपमा नियन्त्रणमा आएको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोकमा बर्डफ्लु नियन्त्रण उन्मुख छ । रासस

प्रकाशित मिति: ३१ असार २०८३, बुधबार  १६ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।