इलाम । इलामको जस्बिरे चिया प्रशोधन उद्योगले पछिल्लो समय आफ्नो उत्पादन क्षमतालाई तीन गुणाले विस्तार गरेको छ । दुई वर्षअघि सो उद्योग आगलागीबाट क्षति समेत भएको थियो ।
उद्योग सञ्चालक गृष्म सुब्बाले उद्योगद्वारा उत्पादित अर्गानिक अर्थोडक्स ‘स्पेशल टी’ अमेरिका, जापान र जर्मनीका बजारमा बिक्री हुने गरेको जानकारी दिए। इलाम नगरपालिका–४ जस्बिरे गाउँका १८५ घरपरिवारले उत्पादन गर्ने हरियोपत्ती र उद्योगकोे ६० रोपनी तथा भाडामा लिएको ४०० रोपनी जमिनमा उत्पादन हुने हरियोपत्ती प्रशोधन भइरहेको उनले बताए।
“वार्षिक ३० हजार केजी अर्गानिक अर्थोडक्स चिया उत्पादन भइरहेको थियो । यस वर्षदेखि उत्पादन क्षमता बढाएर एक लाख केजी पुर्याउने तयारी छ”, सञ्चालक सुब्बाले भने, “दुई बर्षअघि भएको आगलागीमा ८ करोड रुपैयाँ बराबरको क्षति बेहोरेर फेरि शून्यबाट यात्रा सुरु गरेका हौँ ।”
१ दशकअघि १४ लाखको लगानीबाट सुरु गरिएको जस्बिरे चिया प्रशोधन उद्योग अहिले ८ करोडको लगानीमा विस्तार भएको छ । उद्योगको सबैभन्दा ठूलो विशेषता ‘स्पेशल टी’ हो । वार्षिक सात हजार केजी उत्पादन हुने यो चियामध्ये करिब दुई हजार केजी सुइरोबाट मात्र तयार गरिन्छ । उद्योगले प्रतिकेजी १५ हजारमा बिक्री गर्ने यही चिया विदेशी बजारमा रु एक लाखसम्ममा पुग्ने उद्योगका अर्का सञ्चालक सरद सुब्बा बताउँछन।
“नेपालसँगै अमेरिका, जापान, फ्रान्स, चीन, नेदरल्याण्ड, डेनमार्क र जर्मनीसम्म जस्बिरे चियाले बजार बनाएको छ ।” शरदले भने, “विदेशमा पुगेपछि हामीले १५ हजार प्रतिकेजी बेचेको चिया १ लाखसम्ममा बिक्री भएको छ ।”
उद्योगको सफलतामा सुब्बा परिवारका सबै सदस्यको भूमिका छ । ‘नेपाल टी च्यालेन्ज–२०२४’ का ‘बेस्ट टी मेकर’ शरद् सुब्बाले चियाको गुणस्तर सम्हालिरहेका छन भने अन्य सदस्यले बजार व्यवस्थापन, प्राविधिक पक्ष र अन्तरराष्ट्रिय प्रवद्र्धनमा जिम्मेवारी बाँडेका छन । विसं २०४२ मा स्वर्गीय भैरव रिसालले सुरु गराएको चियाखेती विस्तारको अभियान आज फैलिरहेको हो । रिसालले यहाँ आउँदा आलुखेती मात्र होइन चिया रोप्न पनि सिकाएका थिए । त्यतिखेर चियाखेतीबारे ज्ञानआर्जन गरेका स्थानीय सूर्य सुब्बालाई कुनै दिन आफ्ना छोराहरूले चिया उद्योग नै सञ्चालन गर्लान् भन्ने लागेको थिएन ।










प्रतिक्रिया