‘जुलाई’मा औसतभन्दा कम वर्षा


काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।

जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ । सो अवधिमा नेपालभर औसत ११.७ मिलिमिटर वर्षा मापन गरिएको छ । पछिल्लो २४ घण्टामा कपिलवस्तुको पथरकोटामा सबैभन्दा धेरै १६७.० मिलिमिटर वर्षा भएको छ ।

अधिकतम तापक्रम रामेछापको मन्थलीमा ३५.७ डिग्री सेल्सियस मापन गरिएको छ भने न्यूनतम तापक्रम मनाङको हुम्देमा ९.६ डिग्री सेल्सियस छ ।

विभागका मौसमविद् डेविट ढकालका अनुसार मनसुन सक्रिय रहेकाले देशका विभिन्न स्थानमा वर्षाको सम्भावना कायम छ । विशेष गरी पहाडी तथा तराईका केही क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार  १६ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।