काठमाडौँ । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको वैदेशिक व्यापारमा वृद्धि भएको छ । निर्यातको तुलनामा आयातको वृद्धिदर उच्च हुँदा मुलुकको व्यापार घाटा पनि बढेको हो ।
भन्सार विभागले सार्वजनिक गरेको एक वर्षको तथ्यांकअनुसार समिक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार १५.८८ प्रतिशतले बढेर २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कुल व्यापार २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँ बराबरको थियो ।
विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा २० खर्ब ९६ अर्ब ३७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो अघिल्लो वर्षको तुलनामा १६.२० प्रतिशतले बढी हो । अघिल्लो वर्ष १८ खर्ब ४ अर्ब १२ करोडको आयात भएको थियो ।
त्यसैगरी, निर्याततर्फ पनि सुधार देखिएको छ । समिक्षा अवधिमा निर्यात १३.८१ प्रतिशतले वृद्धि भई ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष २ खर्ब ७७ अर्ब ३ करोडको निर्यात भएको थियो । यद्यपि, आयातको तुलनामा निर्यात अति कम रहेको तथ्यांकले प्रष्ट पारेको छ ।
आयातमा भएको उच्च वृद्धिका कारण मुलुकको व्यापार घाटा १६.६३ प्रतिशतले बढेर १७ खर्ब ८१ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष व्यापार घाटा १५ खर्ब २७ अर्ब ९ करोड रुपैयाँ रहेको थियो ।
नेपालको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६.९३ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष आयातको हिस्सा ८६.६९ प्रतिशत थियो ।
यता, निर्यातको हिस्सा सामान्य घटेर १३.०७ प्रतिशतमा सीमित भएको छ । अघिल्लो वर्ष निर्यातको हिस्सा १३.३१ प्रतिशत रहेको थियो ।










प्रतिक्रिया