नेपालगञ्ज । नेपालगञ्ज आसपासका क्षेत्रका बिरामीका लागि चाहिने आवश्यक मात्रमा रगतको अभाव देखिएको छ ।
त्यस क्षेत्रमा दैनिक ७० देखि १०० पिन्ट रगतको माग भए पनि ६० देखि ७० पिन्ट मात्र वितरण भइरहेको लुम्बिनी प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिए।
उनका अनुसार नेपालगञ्जबाहेक कोहलपुर र खजुरा क्षेत्रमा सञ्चालित ४२ वटा अस्पतालमा चिकित्सकको सिफारिसमा बिरामीलाई सुरक्षित रगत उपलब्ध गराइदै आएको छ । हाल नेपालगञ्जमा ३१, कोहलपुरमा ९ र खजुरामा २ अस्पताल छन् ।
बाँकेका विभिन्न अस्पतालमा बिरामीका चाप बढ्दै जाँदा रगतको माग पनि बढी रहेको जानकारी दिँदै प्रमुख रेग्मीले लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेशका अस्पतालका बिरामीका लागि पनि रगतको माग रहेको बताए।
उनले भने, “‘ब्लड डोनेसन’ कम भएको छ यसले हामीलाई थेग्न नसक्ने अवस्था आएको छ ।” लुम्बिनी प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगञ्जका अनुसार नेपालगञ्जमा १०१ पिन्ट, कोहलपुरमा ६२ पिन्ट र खजुरामा १७ पिन्ट रगत मौज्दात रहेको छ ।
प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र, नेपालगञ्जबाट आर्थिक वर्ष २०८२८३ मा २४ हजार ५२६ पिन्ट रगत वितरण गरिएको छ ।बाँके लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामी उपचारका लागि यहाँस्थित विभिन्न अस्पताल आउने भएकाले पनि जिल्लामा सुरक्षित, गुणस्तरीय र पर्याप्त रक्तसञ्चार सेवाको आवश्यकता बर्सेनि बढ्दै गएको रेग्मीले बताए।










प्रतिक्रिया