काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ ९एफएनसिसिआई०ले सुनसरीको कप्तानगञ्जलगायत तराईका विभिन्न जिल्लामा देखिएको अशान्त अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक एकताको अनुपम उदाहरणका रुपमा रहनुका साथै तराई–मधेश क्षेत्र विभिन्न जातजाति, भाषाभाषी र समुदायबीचको आपसी भाइचारा, सामाजिक सद्भाव र सहिष्णुताको केन्द्र भएको उल्लेख गरेको छ ।
कुनै पनि बहानामा हुने सामाजिक अशान्ति, हिंसा र तनावले सामाजिक सद्भाव मात्र नभई उद्योग, व्यापार, दैनिक जनजीवन तथा समग्र आर्थिक गतिविधिमा गम्भीर असर पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
“सामाजिक सद्भाव र शान्तिलाई मुलुकको समृद्धि तथा आर्थिक विकासको पूर्वशर्तका रूपमा महासङ्घले व्याख्या गरेको छ । महासङ्घले जुनसुकै मतभेद वा असमझदारीको समाधान शान्तिपूर्ण वार्ता, संवाद र आपसी समझदारीबाट मात्रै सम्भव हुने विश्वास व्यक्त गरेको छ । साथै सुनसरीको कप्तानगञ्जलगायत प्रभावित क्षेत्रमा शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन स्थानीय प्रशासन र सरकारसँग माग गर्छौँ”, विज्ञप्तिमा भनिएको छ ।
तराई क्षेत्रमा देखिएको वर्तमान तनावपूर्ण अवस्थालाई सामान्य बनाउँदै शान्ति स्थापना गर्न राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, सञ्चारकर्मी तथा स्थानीय समुदायले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने महासङ्घले विज्ञप्तिमा मार्फत् उल्लेख गरेको छ ।










प्रतिक्रिया