वासिङ्टन । विश्व बैङ्कले विकासशील देशलाई कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग विस्तार गर्न आग्रह गर्दै यसलाई बेवास्ता गरेमा ती देश थप पछाडि पर्न सक्ने चेतावनी दिएको छ ।
विश्व बैङ्क समूहको वार्षिक ‘विश्व विकास प्रतिवेदन’ सार्वजनिक गर्दै समूहका प्रमुख अर्थशास्त्री इन्दरमित गिलले एआइले विकासशील अर्थतन्त्रका लागि महत्वपूर्ण अवसर प्रदान गर्ने बताए ।
“एआइले विकासशील अर्थतन्त्रका लागि जीवनरेखाजस्तो अवसर दिएको छ र उनीहरूले यसको सदुपयोग गर्नुपर्छ,” उनले भने । उनले एआईका फाइदा लिन ठूला मोडेल वा विशाल डेटा सेन्टर आवश्यक नपर्ने उल्लेख गर्दै स्वास्थ्य, शिक्षा, न्याय र कृषि क्षेत्रमा स्थानीय आवश्यकताअनुसार कम लागतका एआई उपकरण प्रयोग गर्नुपर्नेमा जोड दिए ।
मुख्य रूपमा अमेरिका र चीनमा विकास गरिएका अत्याधुनिक एआई मोडेलले ठूलो परिमाणमा तथ्याङ्क विश्लेषण गर्ने तथा दक्ष जनशक्तिले लामो समय लगाएर गर्ने कामलाई स्वचालित बनाउन सक्ने क्षमता राख्छन् ।
यस्ता एआई प्रणाली सञ्चालनका लागि विशाल डेटा सेन्टर र उच्च क्षमताका कम्प्युटिङ पूर्वाधार आवश्यक पर्ने भएकाले अत्यधिक ऊर्जा र पानी खपत हुने तथा यसको प्रभाव जलवायु परिवर्तनमा समेत पर्ने प्रतिवेदनमा उल्लेख छ ।
विश्व बैङ्कले जारी गरेको विज्ञप्तिमा विकासशील अर्थतन्त्र तीन दशकयताकै कमजोर औसत आर्थिक वृद्धिको अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै एआइले सन् २०२० को दशकको अन्त्यसम्ममा उनीहरूको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पु¥याउन सक्ने बताएको छ ।
प्रतिवेदनले एआइको प्रयोगमार्फत महँगो चिकित्सा, कानुनी, शैक्षिक र कृषि सेवा सेवाबाट वञ्चित अर्बौं मानिससम्म पु¥याउन सकिने उल्लेख गरेको छ ।
लगातारका आर्थिक चुनौती
विश्व बैङ्कका अनुसार कम आय भएका देश २०२० को दशकभरि नै विभिन्न सङ्कटको सामना गरिरहेका छन् । महामारीपछिको आर्थिक प्रभाव, द्वन्द्व र अन्य विश्वव्यापी चुनौतीका कारण उनीहरूको आर्थिक वृद्धिमा ठूलो दबाब परेको छ ।
बैङ्कले विकासशील देशलाई स्थानीय आवश्यकताअनुसार एआई समाधान विकास गर्न, विद्युत् उत्पादन तथा वितरणमा लगानी बढाउन, कम्प्युटिङ क्षमतामा पहुँच विस्तार गर्न र स्थानीय तथ्याङ्क प्रणाली सुधार गर्न सुझाव दिएको छ ।
प्रतिवेदन निर्देशक गौरव नायरले एआइले लामो समयदेखि समाधान हुन नसकेका समस्या सम्बोधन गर्ने ‘जीवनमा एक पटक आउने अवसर’ प्रदान गरेको बताए ।
प्रतिवेदनले विकासशील देशमा रहेका करिब छ अर्ब ८० करोड मानिस (विश्व जनसङ्ख्याको करिब ८३ प्रतिशत) का आवश्यकताअनुसार एआई उपकरणलाई अनुकूल बनाउनुपर्नेमा जोड दिएको छ ।
यसले बङ्गलादेशमा मधुमेह परीक्षण विस्तार तथा भारतमा उन्नत मौसम पूर्वानुमानमार्फत किसानलाई सहयोग पु¥याउने एआई प्रयोगका उदाहरण प्रस्तुत गरेको छ ।
विश्व बैङ्कले स्मार्टफोनको पहुँच नभएका मानिसका लागि सामान्य मोबाइल फोनमा आवाजमार्फत प्रयोग गर्न सकिने एआई समाधान विकास गर्नुपर्ने उल्लेख गरेको छ ।
विश्वास र असमानताको चुनौती
विश्व बैङ्कले एआई विस्तार गर्दा सार्वजनिक विश्वास कायम गर्नुपर्नेमा पनि जोड दिएको छ । एआई प्रयोगका क्रममा सरकारी निर्णयमा पूर्वाग्रह देखिए वा व्यक्तिगत तथ्याङ्कको गोपनीयता कमजोर भएमा जनविश्वास पुनःस्थापित गर्न कठिन हुने चेतावनी दिएको छ ।
प्रतिवेदनले एआइले देशबीचको आर्थिक खाडल अझ फराकिलो बनाउन, आन्तरिक असमानता बढाउन, बजार शक्ति केही संस्थामा केन्द्रित गर्न र सार्वजनिक संस्थाप्रतिको विश्वास कमजोर बनाउन सक्ने जोखिम औँल्याएको छ ।
रोजगारीमा तत्काल ठूलो असर नदेखिए पनि दीर्घकालमा एआइले मध्यमवर्गीय रोजगारीका केही अवसर विस्थापित गर्न सक्ने चेतावनी प्रतिवेदनमा दिइएको छ ।
विश्व बैङ्कले प्रतिवेदन तयार गर्न ओपनएआई, डीपसिक, गुगल र एन्थ्रोपिकलगायतका एआई उपकरणको समेत प्रयोग गरिएको जनाएको छ ।










प्रतिक्रिया