ज्योति विकास बैंकको नाफा ९०५.७५ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा कति ?


काठमाडौँ । ज्योति विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब ५ करोड ९५ लाख २९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ९०५.७५ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले १० करोड २० हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ३४ करोड १९ लाख ७० हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको २ अर्ब ९ करोड ५३ लाख १३ हजार रुपैयाँ भन्दा उल्लेख्य बढी हो।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ३ अर्ब ११ करोड ४८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी १ अर्ब ५९ करोड २१ लाख १८ हजार रुपैयाँ रहेको थियो। सञ्चालन आम्दानीसँगै बैंकको सञ्चालन मुनाफा पनि बढेर १ अर्ब ७९ करोड ३७ लाख ५० हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ३८ करोड ९८ लाख २१ हजार रुपैयाँ थियो।

बैंकको खराब कर्जा (एनपीएल) ७.७५ प्रतिशतबाट घटेर ६.५५ प्रतिशतमा झरेको छ, जसले सम्पत्ति गुणस्तरमा सुधार भएको देखाउँछ। बैंकको प्रतिशेयर आम्दानी २२.८८ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १७०.९७ रुपैयाँ कायम भएको छ।

त्यस्तै, बैंकको वितरणयोग्य नाफा १४ करोड ४३ लाख ६४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा ९९ करोड ९४ लाख ९५ हजार रुपैयाँ ऋणात्मक रहेको थियो। यसले बैंकको वितरणयोग्य मुनाफामा उल्लेखनीय सुधार आएको देखाएको छ।

समीक्षा अवधिमा बैंकको कुल सम्पत्ति ७७ अर्ब ९१ करोड १० लाख रुपैयाँ पुगेको छ भने कुल दायित्व ७० अर्ब ३९ करोड ५४ लाख ९६ हजार रुपैयाँ रहेको छ। बैंकको चुक्ता पूँजी ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ र जगेडा कोष २ अर्ब ९७ करोड ५४ लाख ४ हजार रुपैयाँ पुगेको छ।

बैंकले ६७ अर्ब २२ करोड ९२ लाख ९१ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ। त्यस्तै, ग्राहकलाई ४९ अर्ब ५८ करोड ३९ लाख ९३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ भने अन्य बैंक तथा वित्तीय संस्थामा २ अर्ब ३० करोड ८ लाख ९२ हजार रुपैयाँ कर्जा लगानी गरेको वित्तीय विवरणमा उल्लेख छ।

प्रकाशित मिति: २१ श्रावण २०८३, बिहिबार  १२ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।