भोलिदेखि सबै परीक्षा स्थगित, निषेधाज्ञासम्म गर्न सरकारलाई सुझाव


कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले भोलिदेखि सञ्चालन हुने सबै परीक्षा स्थागित गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । त्यसैगरी संक्रमितको संख्या पहाडमा २०० र शहरमा ५०० जना नाघेमा निषेधाज्ञा गर्न समेत सिफारिस गर्ने निर्णय गरेको हो ।

सीसीएमसी आइतबार भएको बैठकले विद्यार्थीमा कोरोना संक्रमण बढ्न सक्ने भन्दै तत्कालका परिक्षाहरु स्थागित गर्न भनेको छ भने सीमानाकाबाट विदेशी नागरिकलाई नेपाल प्रवेशमा पनि रोक लगाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । सीसीएमसीको प्रस्तावलाई मन्त्रीपरिषद्ले स्वीकृत गरेमा सीमानाकाबाट भारतीयहरु नेपाल पस्न पाउने छैनन् । यो निर्णयले नेपालमा माल वस्तुको आयात निर्यातलाई भने प्रभाव नपार्ने बताइएको छ ।

बैठकले पहाडी जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित भएमा र शहरी क्षेत्रमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञाको आदेश जारी गर्न सक्ने गरी निर्णय गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको छ । बैठकमा सहभागी धेरैले लकडाउन गर्न नहुने मत राखेका थिए । तर, कतिपयले भने लकडाउन नगरे पनि सक्रिय संक्रमित संख्याका आधारमा प्रतिबन्धात्मक व्यवस्था गर्नुपर्ने धारणा राखेका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।