काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको नाफा ४३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणको कर अघिको नाफा ५ अर्ब ४ करोड रहेको छ ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा खुद नाफा ४३ प्रतिशत अर्थात् ३ अर्ब ८७ करोडले कमी हो । उक्त आर्थिक वर्षमा प्राधिकरणको कर अघिको नाफा ८ अर्ब ९१ करोड रूपैयाँ थियो ।
गत आर्थिक वर्षमा नेपालले १० अर्ब ५६ करोड विद्युत् आयातमा खर्च गरेको छ भने २९ अर्ब ३१ करोडको विद्युत निर्यात गरी आम्दानी गरेको प्राधिकरणले जनाएको छ।
यस्तै, प्राधिकरणले विद्युत् बिक्री र अन्य आम्दानीबाट १ खर्ब ६६ अर्ब रुपैयाँ कुल आम्दानी गरेको छ । जसमध्ये विद्युत् बिक्रीबाट मात्र प्राप्त आय २०८१÷८२ को तुलनामा १८.२० प्रतिशतले वृद्धि भई १ खर्ब ४८ अर्ब ६२ करोड भएको छ ।
विदेशी विनिमय दर वृद्धिका कारण प्राधिकरणले व्यहोर्नुपर्ने दायित्व अघिल्लो आर्थिक वर्षको तुलनामा २७२.८६ प्रतिशतले वृद्धि भई ११ अर्ब ५१ करोड पुगेको छ ।
आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्ममा नेपालको कुल जडित विद्युत उत्पादन क्षमता ४ हजार १ सय २० मेगावाट पुगेको छ । गत आर्थिक वर्षमा मात्रै ५ सय २९ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थप भएको छ ।
प्राधिकरणका विद्युत ग्राहकको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ३.८५ प्रतिशतले वृद्धि भई ५९ लाख २७ हजार पुगेको छ ।





प्रतिक्रिया