राधेराधेस्थित भाटभटेनी सुपरस्टोर २४ सै घण्टा सञ्चालनमा, अन्य दुई स्टोरमा पनि सञ्चालनको तयारी


काठमाडौँ । भक्तपुर राधेराधेस्थित भाटभटेनी सुपरस्टोर सोमबारदेखि चौबिसै घण्टा सञ्चालनमा आएको छ ।

ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै भाटभटेनीले काठमाडौं उपत्यकाका तीन वटा जिल्लामा एक–एक वटा स्टोर चौबिसै घण्टा सञ्चालन गर्न लागेको छ, जसअन्तर्गत राधेराधेमा पहिलो सुरुवात गरिएको हो ।

भाटभटेनीले ललितपुरमा पाटनस्थित कृष्णगल्लीस्थित स्टोर र काठमाडौंको टंगालस्थित रहेको सुपर स्टोर पनि चाँडै सञ्चालनमा ल्याउने तयारी गरिरहेको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले बताए ।

भाटभटेनी सुपरस्टोरका हाल देशभरि २७ वटा स्टोर सञ्चालनमा छन् । भाटभटेनीले वार्षिक ३२ अर्ब रुपैयाँ बराबर आम्दानी गर्दै आएको उक्त स्टोरमा देशभरी २२ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

रातैभर ग्रोसरी खुल्ला हुने भएपछि स्टोरमा राति काम गर्ने कर्मचारीलाई थप तलबको व्यवस्था समेत गरिएको छ । उनीहरुले कुल तलबमा २५ प्रतिशत थप पाउनेछन् ।

प्रकाशित मिति: २ भाद्र २०८३, मंगलबार  ११ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।