हुम्लाका ज्येष्ठ नागरिकलाई बैंक खाता खोल्न सास्ती

0
Shares

उच्च हिमाली जिल्ला हुम्लाका ज्येष्ठ नागरिकलाई बैंक खाता खोल्न सास्ती भएको छ । भौगोलिक विकटताका कारण ७० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई गाउँबाट सदरमुकाम सिमकोट पुगेर बैंक खाता खोल्न निकै समस्या हुने गरेको उनीहरूले गुनासो गरेका छन् ।

सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि बैंक खाता खोल्नुपर्ने भएपछि ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिले सास्ती खेप्नुपरेको छ ।

खाता खोल्न सदरमुकाम सिमकोटसम्म एक दिन पैदल हिँडेर आउनुपर्ने भएपछि उनीहरूलाई समस्या भएको हो । सिमकोट गाउँपालिका–७ का ७८ वर्षीय ज्येष्ठ नागरिक पञ्चवीर रोकायाले पाँच घण्टा पैदल उकालोबाटो हिँडेर बैंक खाता खोल्न सरदमुकाम आएको गुनासो पोख्नुभयो ।

दमका बिरामीसमेत रहनुभएका रोकायाले आफू निकै सास्ती खेपेर बैंक खाता खोल्न आइपुगेको तर १० महिना बितिसक्यो अहिलेसम्म गत साउनदेखि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो पोखे । सरकाले दिने सामाजिक सुरक्षा भत्ता आफूहरूलाई विरतण नगरेर ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई दुःख दिने काम भएको आरोप समेत लगाए।

सामाजिक सुरक्षा भत्ताको दुरुपयोग रोक्न सरकारले राम्रो काम गरेको भए पनि सेवाग्राहीलाई समस्या थपिएको छ । त्यस्तै सिमकोट गाउँपालिका–१ का ८८ वर्षीय ज्येष्ठ नागरिक आङ्याल लामाले बैंक खाता नखोले भत्ता नपाइने सुने पनि आफू बैंक भएको स्थान सदरमुकाम सिमकोट जान नसक्ने बताए । सबैको हकमा यो नियम व्यवहारिक नभएको बताउँदै लामाले आफूजस्ता हिँड्न नसक्ने नागरिकका लागि विकल्प दिन पनि सरकारलाई अनुरोध गरे ।

यता नाम्खा गाउँपालिका–६ हिमालपारिको गाउँ लिमीका ९० वर्षीय पाल्जुमा तामाङको अवस्था पनि उस्तै छ । उनले तीन दिन पैदल लाग्ने पालिका केन्द्रसम्म आफू जान नसक्ने बताउँदै शारीरिक अवस्थाले साथ नदिने र भत्ता पाउन बैंक खाता खोल्नैपर्ने बाध्यताले आफू भत्ता पाउनबाट बञ्चित भएको गुनासो गरे ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।