काठमाडौँ । भोटेकोशी बाढी विपद्को १२औँ दिन पनि खोज, उद्धार र राहत कार्य जारी छ ।
बाढीबाट ठूलो जनधनको क्षति, ठूलो सङ्ख्यामा नागरिक विस्थापन हुनुका साथै रसुवा, नुवाकोट, धादिङ र नदीको बहाव क्षेत्रअन्तर्गतका अन्य जिल्लाका घर, भवन, सडक, पुल, जलविद्युत् संरचना तथा अन्य महत्वपूर्ण पूर्वाधारमा क्षति भएको छ ।
नेपाल सरकारले खोज, उद्धार तथा राहतका लागि आफ्नो उपलब्ध सबै साधन तथा स्रोत परिचालन गरिरहेको जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल पूर्ण रूपमा परिचालित छन् ।
साथै विपद् व्यवस्थापनसम्बन्धी निकाय, प्रदेश तथा स्थानीय तह र अन्य सम्बन्धित निकाय पनि परिचालित छन् ।
परराष्ट्र मन्त्रालयले खोज, उद्धार तथा राहत कार्यका लागि देशभित्र तथा छिमेकी मुलुक र अन्तरराष्ट्रिय साझेदारहरूसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ । भारत, चीन तथा गणतन्त्र कोरियाबाट आएका सुरुङ उद्धार टोलीले नेपाली सेनासँग समन्वय गरी खोजी र उद्धार कार्य जारी राखेका छन् । छिमेकी मुलुक, मित्रराष्ट्र तथा अन्तरराष्ट्रिय समुदायबाट प्राप्त उद्धार सहयोगका उपकरण, ड्रोन, लोड क्यारियर तथा अन्य सामग्रीहरू यी कार्यमा प्रयोग भइरहेका मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार अनुरोध गरिएका विशिष्टताअनुसार नौ वटा उच्च क्षमताका ड्रोनसहित ११ सदस्यीय विशेष मलेसियाली विपद् सहायता तथा उद्धार टोली शनिबार नेपाल आइपुगेको छ । हालसम्म १३ हजार १०४ जनाको उद्धार गरिएकामा ३०० भन्दाबढी विदेशी नागरिक रहेका मन्त्रालयको पछिल्लो विवरणमा उल्लेख छ । अझै पनि अनुमानित हजार मानिस बेपत्ता रहेका छन् । त्यसमा ३५ देशका अनुमानित ६०० जना विदेशी नागरिक रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।





प्रतिक्रिया