प्रतिनिधिसभामा उठ्यो ग्यास अभावका विषय


काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरूले खाना पकाउने ग्यासको अभाव हटाउन प्रभावकारी बजार अनुगमन गरी कालोबजारी नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरूले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको विषयमा सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराए। उनीहरूले बजारमा ग्यासको हाहाकार देखिएको भन्दै तत्काल कालोबजारी अन्त्य गरी सहज आपूर्तिको व्यवस्था गर्न माग गरे।

सांसदहरूले ग्यासको अभावका कारण सर्वसाधारण नागरिकले सास्ती खेप्नुपरेको भन्दै बजार अनुगमनलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरे। उनीहरूले ग्यासको आपूर्ति, वितरण र बिक्री प्रणालीलाई व्यवस्थित गर्दै कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्ने व्यवसायीमाथि कारबाही गर्नुपर्नेमा जोड दिए।

विशेष समयमा सांसदहरूले जलवायु परिवर्तनका कारण भोटेकोशीमा आएको बाढी विपद्का रूपमा रहेको विषय विश्व समुदायलाई जानकारी गराउनुपर्नेमा समेत जोड दिए। उनीहरूले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका विपद्का घटनाबाट भएको क्षतिको क्षतिपूर्तिका लागि सरकारले अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी रूपमा वकालत गर्नुपर्ने बताए।

सांसद टुकाभद्रा हमाल, गणेशबहादुर विश्वकर्मा, सरस्वती लामा, सुम्निमा उदास, राम लामा, गुरूप्रसाद बराल, बदनकुमार भण्डारी, जगतसिंह धामी, अचुतम लामिछाने, रञ्जु न्यौपाने, रमेशकुमार सापकोटा, कमल सुवेदी, विदुषी राणा, प्रदीप विष्ट, रुबिना आचार्य र करिष्मा कठरियाले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा जारी खोज, उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।

उनीहरूले बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतसँगै विस्थापितको पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि स्पष्ट तथा दीर्घकालीन योजना बनाउन सरकारलाई सुझाव दिए।

सांसदहरूले विपद्पछि प्रभावित नागरिकको जीवन सहज बनाउन आवश्यक खाद्यान्न, आवास, खानेपानी तथा अन्य अत्यावश्यक सेवाको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै पुनःस्थापना र पुनःनिर्माणका कामलाई तीव्रता दिनसमेत सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित मिति: २५ भाद्र २०८३, बिहिबार  १७ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।