झापा। कनकाई नगरपालिका–१ र २ मा अवस्थित पूर्वकै पुरानो र चर्चित पर्यटकीय गन्तव्य जामुनखाडी सिमसारमा पर्यटकका लागि नयाँ आकर्षणका रूपमा ‘फिसिङ’ अर्थात् बल्छी हालेर माछा मार्ने कार्यक्रम सुरु गरिएको छ।
जिल्लाका सामुदायिक वनमा रहेका पर्यटकीयस्थलमध्ये जामुनखाडीमा पहिलोपटक चालु आर्थिक वर्षको भदौ दोस्रो सातादेखि उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको हो। पर्यटकलाई मनोरञ्जनसँगै नयाँ अनुभव प्रदान गर्ने उद्देश्यले फिसिङ कार्यक्रम सञ्चालनमा ल्याइएको सामुदायिक वनले जनाएको छ।
विसं २०६५ मा स्थापित सामुदायिक वनको कुल ४४३ हेक्टर क्षेत्रमध्ये ३२ हेक्टरमा पर्यटकीय तथा सिमसार क्षेत्र फैलिएको छ। स्थापनाकालदेखि नै जोखिममा परेका वन्यजन्तुलाई आश्रय दिँदै आएको यस क्षेत्रमा हाल दुईवटा कृत्रिम पोखरी छन्।
जामुनखाडी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पर्शुराम गिरीका अनुसार ठूलो पोखरीमा करिब ४० क्विन्टल र सानो पोखरीमा १० क्विन्टल विभिन्न प्रजातिका माछा छन्।
अध्यक्ष गिरीका अनुसार पर्यटकका लागि सानो पोखरीमा फिसिङको व्यवस्था मिलाइएको छ। उक्त पोखरीमा १०० ग्रामदेखि एक किलोग्रामसम्मका माछा छन्। फिसिङ सेवा सुरु भएसँगै आन्तरिक तथा भारतीय पर्यटकको उपस्थिति बाक्लिन थालेको उनले बताए।
पर्यटकले पर्यटकीयस्थल प्रवेशका लागि रु १०० र फिसिङका लागि थप रु १०० शुल्क तिरेपछि दिनभर माछा मार्न पाउने व्यवस्था गरिएको छ। थप शुल्क तिरेपछि माछा मार्न आवश्यक बल्छी र चारोको व्यवस्था सामुदायिक वनले नै गर्दै आएको छ।
फिसिङ गरी मारेका माछा पर्यटकले प्रतिकेजी रु ५०० मा खरिद गरेर लैजानुपर्ने व्यवस्था गरिएको छ। हाल जामुनखाडी आउने पर्यटकले दैनिक एकदेखि पाँच किलोग्रामसम्म माछा मार्ने गरेका छन्।
सार्वजनिक बिदाका दिन फिसिङ गर्ने पर्यटकको घुइँचो लाग्ने गरेको छ। फिसिङप्रति पर्यटकको आकर्षण बढ्दै गएपछि आगामी बडादसैँको अवसर पारेर यहाँ ‘फिसिङ प्रतियोगिता’ सञ्चालन गर्ने लक्ष्यसमेत राखिएको अध्यक्ष गिरीले बताए।
उनका अनुसार नयाँ कार्यक्रम सुरु गरेपछि जामुनखाडी आउने पर्यटकले यहाँको प्राकृतिक सौन्दर्यसँगै माछा मार्ने मनोरञ्जनसमेत लिन पाएका छन्। फिसिङलाई थप व्यवस्थित गर्दै पर्यटकको आकर्षण बढाउने योजना सामुदायिक वनको छ।
यसअघि जामुनखाडीका दुवै पोखरीमा डुङ्गा सयरको सुविधा मात्र उपलब्ध थियो। फिसिङ सेवा थपिएपछि पर्यटकले डुङ्गा सयरसँगै माछा मार्ने गतिविधिमा समेत सहभागी हुन पाउने भएका छन्।
वन्यजन्तु संरक्षणको क्षेत्रमा समेत योगदान पुर्याउँदै आएको जामुनखाडीमा चितुवा, मृग, अजगर, भालुलगायतका जनावर तथा गिद्ध, चिल, हुचिल र लाटोकोसेरो जस्ता पक्षी संरक्षित छन्।
जामुनखाडी सामुदायिक वनले वन संरक्षणसँगै पर्यटन प्रवद्र्धनलाई पनि प्राथमिकतामा राख्दै आएको छ। सिमसार क्षेत्रको संरक्षण, वन्यजन्तुको संरक्षण र पर्यटकीय गतिविधिलाई एकसाथ अघि बढाउँदै आएको सामुदायिक वनले पर्यटकलाई आकर्षित गर्न विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।
कोशी प्रदेश सरकारले समेत यस क्षेत्रलाई वन्यजन्तु संरक्षण केन्द्रका रूपमा विकास गरेको छ। वन, सिमसार, वन्यजन्तु तथा मनोरञ्जनात्मक गतिविधिका कारण जामुनखाडी पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै गएको छ।
फिसिङ सेवा थपिएसँगै जामुनखाडीमा पर्यटकले नयाँ अनुभव लिन पाउने भएका छन्। यसले पर्यटकको बसाइ लम्ब्याउनुका साथै सामुदायिक वनको आम्दानी बढाउन र स्थानीयस्तरमा पर्यटन गतिविधि विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
रासस





प्रतिक्रिया