उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण


उत्तरी नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले ६ जना मुस्लिम धार्मिक गुरुलाई अपहरण गरेको प्रहरीले जनाएको छ । पछिल्लो समय उक्त राज्य फिरौतीका लागि हुने अपहरणबाट प्रभावित हुँदै आएको छ ।

प्रहरीका अनुसार शनिबार अत्याधुनिक हतियार बोकेका सशस्त्र समूहले डाक्को–दम्री सडकमा घात लगाएर धार्मिक गुरुहरू सवार गाडी रोकेका थिए । उनीहरू तलाता मफारा जाँदै गर्दा अपहरणमा परेका हुन् ।

नाइजेरियाली सञ्चारमाध्यमका अनुसार उनीहरू सिनेटर अब्दुलअजिज अबुबकर यारीको धार्मिक कार्यक्रममा सहभागी हुन जाँदै थिए । यारी जाम्फारा राज्यका पूर्व गभर्नरसमेत हुन् ।

अपहरणपछि सुरक्षा टोलीले उनीहरूको खोजी तथा उद्धारका लागि व्यापक अभियान सुरु गरेको प्रहरीले जनाएको छ । आसपासका जंगल र झाडीमा खोजी भइरहेको छ ।

नाइजेरियामा पछिल्लो समय अपहरण सशस्त्र समूहका लागि आम्दानीको प्रमुख स्रोत बनेको छ । जिहादी समूहसँगै अपराधी समूहहरूले पनि मानिसलाई अपहरण गरी फिरौती माग्ने गरेका छन् ।

एसबीएम इन्टेलिजेन्सको अगस्टमा प्रकाशित प्रतिवेदनअनुसार, पछिल्लो एक वर्षमा नाइजेरियामा अपहरणकारीलाई करिब ६० लाख अमेरिकी डलर फिरौतीका रूपमा बुझाइएको छ ।

देशको कमजोर अर्थतन्त्रसँगै बढ्दो असुरक्षा नाइजेरियाको आगामी निर्वाचन अभियानको प्रमुख मुद्दा बनेको छ ।

प्रकाशित मिति: २८ भाद्र २०८३, आइतबार  १५ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।