हुथी आक्रमणपछि कच्चा तेलको मूल्य फेरि उकालो


काठमाडाैँ । साउदी अरेबियामाथि हुथी विद्रोहीको नयाँ आक्रमण तथा खाडी क्षेत्रमा जहाजमाथि भएका इरानी आक्रमणका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा संकट गहिरिँदै गएको छ। यसैबीच, साउदी अरेबियाको प्रमुख तेल पाइपलाइन बन्द भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सोमबार २ प्रतिशतभन्दा बढीले बढेको हाे।

बजार खुलेलगत्तै ३ प्रतिशतभन्दा बढीले उकालो लागेको ब्रेन्ट क्रुडको मूल्य पछि २.७७ प्रतिशत अर्थात् २.९० डलरले बढेर प्रतिब्यारेल १०७.५१ डलर पुगेको छ। यस्तै, वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) फ्युचर्सको मूल्य पनि २.२७ प्रतिशतले बढेर प्रतिब्यारेल १०२.३२ डलर पुगेको छ।

ऊर्जा आपूर्तिमा देखिएको अवरोधका कारण गत साता मात्रै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य करिब ८ प्रतिशतले बढेको थियो। त्यसक्रममा तेलको मूल्य जुलाईयता पहिलोपटक प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको थियो।

गत शुक्रबार इराकबाट भएको ड्रोन आक्रमणपछि साउदी अरेबियाको पूर्व–पश्चिम तेल पाइपलाइन बन्द भएको बताइएको छ। होर्मुज जलमार्गको विकल्पका रूपमा प्रयोग हुँदै आएको उक्त पाइपलाइन बन्द हुँदा विश्वव्यापी तेल आपूर्तिको करिब ४ प्रतिशत हिस्सा प्रभावित हुने जोखिम बढेको छ।

ऊर्जा आपूर्तिमा देखिएको पछिल्लो भूराजनीतिक तनावले विश्वभर मुद्रास्फीति थप चर्किन सक्ने चिन्ता बढाएको छ। यसैबीच, पछिल्लो अमेरिकी उपभोक्ता मूल्य सूचकांक अपेक्षाभन्दा बढी बढेपछि अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले बुधबार २५ आधार विन्दुले ब्याजदर बढाउने सम्भावना ८६ प्रतिशत पुगेको छ।

प्रकाशित मिति: २९ भाद्र २०८३, सोमबार  १४ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।