मध्य भोटेकोशीको आईपीओ पहिलो दिन १ करोड ३० लाख रुपैयाँको आवेदन

0
Shares

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले बैशाख २१ गते मंगलबारदेखि जारी गरेको ६० करोड रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) मा १ करोड ३० लाख २८ हजार रुपेयाँ बराबरको आवेदन परेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोकका बासिन्दाका लागि जारी गरेको ६० लाख कित्ता शेयरमा १ लाख ३० हजार २८० कित्ता शेयरको माग भएको हो ।

क्यापिटलको शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आयोजनाबाट अति प्रभावित बासिन्दाहरुको तर्फबाट ६४ वटा आवेदन मार्फत २० हजार ३०० कित्ता र सिनधुपाल्चोकका अन्य स्थानहरुका बासिन्दाबाट ५३७ वटा आवेदन मार्फत १ लाख ९ हजार ९८० कित्ता शेयरको माग भएको हो ।

यसरी पहिलो दिन मंगलबार कुल ६०१ वटा आवेदन मार्फत १ करोड ३० लाख २८ हजार रुपैयाँ बराबरको १ लाख ३० हजार २८० कित्ता शेयरको माग भएको हो ।

धितोपत्र बोर्डबाट १ अर्ब ५० करोडको शेयर जारी गर्न अनुमति पाएको कम्पनीले पहिलो चरणमा सिन्धुपाल्चोकका बासिन्दाका लागि १० प्रतिशतका दरले हुन आउने ६० लाख कित्ता अर्थात ६० करोड बराबरको शेयर जारी गरेको हो ।

उक्त आइपीओ निष्काशन छिटोमा जेठ ४ बन्द हनेछ भने ढिलोमा जेठ २० गतेसम्म खुला रहनेछ ।

कुल निष्काशनमा आउने शेयरमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुमा बाँडफाँड गरिने जनाइएको छ ।

यसैगरी बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्ता सिन्धुपाल्चोक जिल्लाको अन्य गाउँपालिकामा तथा नगर क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्टाइएको छ ।

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीआईबिएल क्यापिटल लिमिटेड सहबिक्री प्रबन्धक रहेका छन् ।

कहाँबाट दिन सकिन्छ आवेदन ?

स्थानीयका लागि जारी हुने शेयर खरीदका लागि ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एशिया बैंकका सिन्धुपाल्चोक जिल्लामा रहेका शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ ।

उक्त आईपीओमा न्यूनतम ५० कित्ता देखि अधिकतम ४०० कित्तासम्मका लागि आवेदन पाउने व्यवस्था छ ।

मध्य भोटेकाशीको आईपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले ‘केयर एनपी डबल बी इस्युअर रेटिङ’ प्रदान गरेको छ । यो रेटिङ प्राप्त संस्थाले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

यस्तो छ आयोजना

मध्य भोटेकोसी सिन्धुपाल्चोकमा १०२ मेगावाट क्षमताको जलविद्युत आयोजना निमार्ण गरिरहेको छ । कम्पनीको अधिकृत पूँजी ६ अर्ब २१ करोड रुपैंया छ भने जारी पूँजी ६ अर्ब रुपैयाँ छ ।

आयोजनाबाट वार्षिक ५९ करोड युनिट विक्री योग्य विद्युत उत्पादन हुने अनुमान छ। चिलिमे जलविद्युत पावर कम्पनीको नेतृत्वमा बन्न लागेको यो आयोजना सिन्धुपाल्चोको सबैभन्दा ठूलो हो ।

व्याजसहित १५ अर्ब रूपैयाँ लागतमा बन्ने आयोजना सन् २०१३ को सुरुवातमा निर्माण सुरु गरी सन् २०१६ को अन्त्यमा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । तर जुरे पहिरो, भूकम्प, बाढीपहिरो, बाँधस्थलको जग्गा समयमा उपलब्ध नभएका कारण आयोजनाको म्याद थप गरिएको थियो । संसोधित कार्यतालिकाअनुसार आयोजनाको निर्माण सन् २०१९ को जुनमा सक्ने लक्ष्य राखिएको छ। आयोजनामा कर्मचारी सञ्चय कोषले ६ अर्ब २१ करोड ऋण प्रवाह गरेको छ ।

आयोजनाबाट वार्षिक वार्षिकरुपमा ५४ करोड २० लाख युनिट विद्युत उत्पादन हुने छ ।आयोजनाले विद्युत् बिक्रीबाट वार्षिक रुपमा दुई अर्ब ९० करोड ४३ लाख आम्दानी गर्ने अनुमान गरिएको छ ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ बैशाख २०७८, बुधबार  ११ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।