रात्रिकालीन यातायात विस्तार गर्न भक्तपुरका स्थानीय तहलाई काठमाडौँको प्रस्ताव


काठमाडौँ। काठमाडौँ महानगरपालिकाले उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्न भक्तपुरका स्थानीय तहलाई प्रस्ताव गरेको छ ।

काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भक्तपुरको भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिकालाई उक्त प्रस्ताव गरेकी हुन् । काठमाडौं र ललितपुरका स्थानीय तहले सञ्चालन गरेको रात्रिकालीन यातयात सेवामा जोडिन उनले भक्तपुरका स्थनीय तहलाई पनि आग्रह गरिन् ।

‘अहिले हामी रुट विस्तार गर्दै छौँ । यस क्रममा भक्तपुरलाई पनि यसैगरी साझेदारीमा जोडेर अघि बढाउन विशेष अनुरोध गर्दछु,’ उनले भनिन् ।

डंगोलका अनुसार, गत वैशाख १ गतेदेखि काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका र चन्द्रागिरी नगरपालिकाको सहकार्ययमा साझा यातयातको रात्रिकालीन यातयात सेवा सञ्चालन भइरहेको छ । रात्रिकालीन बस सेवा काठमाडौंबाहिरका क्षेत्रमा विस्तार गर्नुपर्ने माग बढेको उनले बताइन् ।

सेवा विस्तारका लागि भक्तपुरका स्थानीय तहहरूले पनि साझेदारी गर्नुपर्ने डंगोलको भनाइ छ । श्रमिक तथा मध्यम वर्गको लागि रात्रिकालीन वस सेवा अत्यावश्यक देखिएको उनले बताइन् । ‘राति ६–७ बजेपछि सार्वजनिक यातायातका साधनहरू बिस्तारै कम हुँदै जान्छन् । धेरै श्रमिक वर्गका मानिसहरू काठमाडौंमा काम गर्नुहुन्छ, तर उहाँहरूको घर भक्तपुर, ललितपुर, कीर्तिपुर, चन्द्रागिरिलगायत ठाउँमा हुनसक्छ,’डंगोलले भनिन्, ‘काम सकेर घर फर्किनुपर्दा सार्वजनिक यातायात नपाउने समस्या उहाँहरूले भोग्दै आउनुभएको छ ।’

प्रारम्भिक चरणमा यातयात सेवा सञ्चालनमा केही घाटा देखिएको डंगोलको भनाइ छ । त्यसलाई सबै स्थानीय तहले व्यहोर्ने गरी सेवा सञ्चालन गर्न उनले जोड दिइन् ।

रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन हुने सबै स्थानीय तहबीच वित्तीय साझेदारी गरेर सेवालाई दीर्घकालीन सञ्चालन गर्नुपर्ने डंगोलले बताइन् । यातयात सेवालाई दिगो बनाउन सके यात्रु संख्या बढ्ने उनको भनाइ छ ।

‘एउटा पालिकाले मात्र ‘म गर्छु’ भनेर यो सेवा सञ्चालन गर्न सक्ला, तर हामीले त्यसरी अघि बढ्नु हुँदैन । यसमा संयुक्त स्वामित्व हुनुपर्छ,’ उनले भनिन्, ‘यसलाई संस्थागत गर्न सकियो भने सेवा दिगो रूपमा सञ्चालन गर्न सकिन्छ ।’

श्रमिक वर्गलाई लक्षित गरी सेवा सञ्चालन भएकाले स्थानीय तहले नै वित्तीय साझेदारी गर्नुपर्ने देखिएको डंगोलले बताइन् । सेवा सञ्चालन हुने पालिकाहरूले लागत साझेदारी गरेमा कुनै एक स्थानीय तहमा मात्र आर्थिक भार नपर्ने उनको भनाइ छ ।

‘तथ्यांक हेर्दा पनि राति बसको आवश्यकता देखिएको छ । यसको लागि सबै स्थानीय तहको सहकार्य आवश्यक छ,’ डंगोलले भनिन्,’सेवा सञ्चालन हुने रुटसँग प्रत्यक्ष रूपमा जोडिएका पालिकाहरूले लागत साझेदारी गर्ने हो भने कुनै एउटा पालिकामाथि ठूलो आर्थिक भार पनि पर्दैन ।’

मध्यपुर थिमी र भक्तपुर नगरपालिका दुवैले काठमाडौं महानगरको प्रस्तावलाई सकारात्मक भएको भन्दै साझेदारीको लागि ईच्छुक रहेको जनाएका छन् ।

असोज ३ गतेदेखि काठमाडौं उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने गरी तयारी थालिएको छ । सेवालाई भक्तपुरमा पनि जोड्न काठमाडौं महानगरले पहल थालेको हो । असोज ३ गतेदेखि उपत्यकाको उत्तर दक्षिण र पूर्वपक्षिम दुवै भागलाई जोड्ने गरी सेवा थालनी गर्न लागिएको हो ।

यसअन्तर्गत गोदावरीदेखि बुढानीलकण्ठसम्म ६ वटा, भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म ६ वटा, एअरपोर्टदेखि चन्द्रागिरीको नागढुंगासम्म ४ वटा बस, कीर्तिपुरदेखि काठमाडौंको नयाँ सडक नेपाल वायुसेवा निगमसम्म ४ वटा र चक्रपथमा दुईतर्फी फन्को लगाउन ८ वटा बस सञ्चालन हुनेछन् ।

चक्रपथमा यातायात सेवा प्राप्त भएपछि एक ठाउँमा बस परिवर्तन गर्दा सेवा सञ्चालन गरेका हरेक ठाउँमा पुग्न सकिनेछ । यसरी यात्रा गर्दा अधिकतम ८० रुपियाँ भाडा लाग्नेछ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: ३० भाद्र २०८३, मंगलबार  १३ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।