काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि सेयरधनीलाई ४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको बुधबार बसेको ५२१ औँ सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी २०औँ वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र वितरण हुनेछ ।
बैंकले २०८३ असार मसान्तको चुक्ता पुँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार ६१४ रुपैयाँको ३.८० प्रतिशत अर्थात् ५८ करोड ९२ लाख ८३ हजार ६१७ रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको छ ।
त्यस्तै, कर प्रयोजनका लागि ०.२० प्रतिशत अर्थात् ३ करोड १० लाख १४ हजार ९२७ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरिएको छ । बोनस सेयर र नगद लाभांश गरी बैंकले कुल ६२ करोड २ लाख ९८ हजार ५४४ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकका अनुसार २०६४ वैशाख ७ गतेदेखि कारोबार सञ्चालन गर्दै आएको सिटिजन्स बैंकले सर्वसाधारणलाई सेयर जारी गरेको आर्थिक वर्ष २०६५/६६ देखि नै सेयरधनीलाई निरन्तर लाभांश दिँदै आएको छ । बैंकको २० वर्षको औसत लाभांश दर १०.०८ प्रतिशत रहेको छ । प्रस्तावित लाभांशसमेत जोड्दा पछिल्लो १० वर्षको औसत लाभांश दर ९.२४ प्रतिशत पुग्ने बैंकले जनाएको छ ।





प्रतिक्रिया