काठमाडौँ । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को महानिर्देशकमा डा. गोपालप्रसाद तिवारी नियुक्त भएका छन् । महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बुधबार सचिवालयमा एक कार्यक्रमकाबीच डा. तिवारीलाई नियुक्ति पत्र प्रदान गरेका हुन् । उनको नियुक्ति असोज १ गतेदेखि लागू हुने महासंघले जनाएको छ।
डा. तिवारी यसअघि सन् २०१८ देखि २०१९ सम्म महासंघको कार्यवाहक महानिर्देशकका रूपमा कार्यरत थिए।
२५ वर्षभन्दा लामो आर्थिक नीति, लगानी सुधार तथा सार्वजनिक–निजी साझेदारीको अनुभव रहेका तिवारीले विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम, एसियाली विकास बैंक, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम, अन्तर्राष्ट्रिय श्रम संगठनलगायत संस्थामा काम गरिसकेका छन्।
उनी यसअघि सीबीफिनका महानिर्देशक, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वरिष्ठ प्राविधिक विज्ञ तथा नेपाल आर्थिक पत्रकार समाजका पूर्वअध्यक्षसमेत भइसकेका छन् । निजी क्षेत्रको व्यावसायिक वातावरण सुधार विषयमा अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी) गरेका डा. तिवारीका व्यापार कूटनीति र औद्योगिक विकाससम्बन्धी विभिन्न अनुसन्धानमूलक पुस्तकहरू प्रकाशित छन्।





प्रतिक्रिया