नारायणी लिफ्टलिफ्ट–खगेरी सिँचाइ आयोजना : मासिक विद्युत् खर्च ४२ लाखसम्म


नारायणगढ । चितवनको नारायणी लिफ्ट–खगेरी सिँचाइ आयोजनाले बर्खायाममा पश्चिम चितवनका किसानलाई २४सै घण्टा नारायणी नदीबाट पानी तानेर सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको छ ।

आयोजनाका पम्प २४सै घण्टा सञ्चालन गर्दा मासिक रु ४२ लाखसम्म विद्युत् खर्च हुने गरेको छ । बर्खायाममा पश्चिम चितवनका चार हजार ७०० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउन नारायणी नदीबाट दुई वटा पम्पमार्फत निरन्तर पानी तान्ने गरिएको आयोजनाले जनाएको छ ।

नारायणी लिफ्ट–खगेरी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख कुलराज चालिसेका अनुसार आयोजनाअन्तर्गत खगेरी सिँचाइ प्रणाली र नारायणी लिफ्ट सिँचाइ प्रणाली सञ्चालनमा छन् । नारायणी नदीबाट पम्पमार्फत पानी तानेर पश्चिम चितवनतर्फको नहरमा पठाइने तथा पूर्वी चितवनको खगेरी खोलामा रत्ननगर–९ टिकौलीको कपरखोरी नजिक बाँध बाँधेर ल्याइएको खगेरी नहरमार्फत पनि सिँचाइ सुविधा उपलब्ध गराइएको उनले बताए।

उहाँका अनुसार खगेरी नहरमा बाँध बाँधेर पानी ल्याइने भएकाले नहर मर्मत तथा झारपात सफा गर्नेबाहेक ठूलो खर्च हुँदैन । तर नारायणी लिफ्टबाट पानी तान्दा विद्युत्मा ठूलो खर्च हुने गर्दछ । दुवै पम्प निरन्तर सञ्चालन गर्दा प्रतिमहिना करिब रु ४२ लाखसम्म विद्युत् महसुल लाग्ने उनले बताए ।

चालिसेका अनुसार बर्खायाममा असार १२ गतेदेखि असोज ३० गतेसम्म पानीको आवश्यकता रहेमा नहर निरन्तर सञ्चालन गरिन्छ । उनले भने, “सिँचाइको मागअनुसार नहर चलाउँदै आएका छौँ । पानी परेका बेला पम्प सञ्चालन गर्नुपर्दैन । तर पानी नपरेर खेतमा सिँचाइ आवश्यक भए निरन्तर पानी छाड्छौँ ।”

उनले हिउँदमा पनि गहुँ, मकैलगायत बालीमा सिँचाइ आवश्यक परे मागअनुसार नहर सञ्चालन गरिने जानकारी दिए। वार्षिक रूपमा विद्युत् महसुलमा करिब रु दुई करोड खर्च हुने उनले बताए ।

उनका अनुसार नारायणी लिफ्ट र खगेरी सिँचाइ प्रणालीबाट भरतपुर महानगरपालिकाको गीतानगर, पटिहानी, जगतपुर, पार्वतीपुर, मङ्गलपुर, गुञ्जनगर र शारदानगरलगायत पश्चिम चितवनका क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ । नहरमा पानी छाडेपछि पश्चिम चितवनका पोखरी, इनार र धारामा पानी आउने गर्दछ । यही पानीको सहायताले पश्चिम चितवनका किसानले धान रोपाइँ गर्दै आएका छन् ।

चालिसेका अनुसार जग्गा प्लटिङ र सहरीकरण बढ्दै जाँदा कतिपय स्थानमा नहर अतिक्रमण भएको छ । भरतपुर महानगरपालिकाको सहरी क्षेत्र भएर बग्ने नहरको जग्गा विभिन्न व्यक्ति, सङ्घसंस्था, समूह तथा सरकारी निकायले वर्षौँदेखि अतिक्रमण गर्दै आएको उनले बताए।

खगेरी सिँचाइ प्रणालीबाट तीन हजार ९०० हेक्टर र नारायणी लिफ्ट सिँचाइ प्रणालीबाट चार हजार ७०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुँदै आएको छ ।

आयोजनाअन्तर्गत ‘बी’ मूल नहर २२ किलोमिटर, ‘सी’ नहर १४ किलोमिटर र लिङ्क नहर ५०० मिटर लम्बाइको रहेको छ । खेतीयोग्य जमिन प्लटिङ हुँदै जाँदा नहरबाट सिँचाइ हुने क्षेत्रसमेत घट्दै गएको उनले बताए।

आयोजनाको नारायणी लिफ्टमा विसं २०७९ मा नयाँ पम्प जडान गरिएको हो । पम्प सञ्चालन तथा नियन्त्रणका लागि कम्प्युटर प्रणाली प्रयोगमा रहेको छ । कन्ट्रोल रुमबाट कम्प्युटर प्रणालीमार्फत तथा आवश्यकताअनुसार म्यानुअल रूपमा पनि पम्प सञ्चालन गर्न सकिने व्यवस्था रहेको चालिसेले जानकारी दिए । यस वर्ष आएको बाढीले पम्प सञ्चालनमा कुनै असर नपारेको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति: १ आश्विन २०८३, बिहिबार  ०७ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।