काठमाडौँ । बागमती र कर्णाली प्रदेशका विभिन्न जिल्लामा बाढी, पहिरो तथा सडक क्षतिका कारण मुख्य राजमार्गमा यातायात प्रभावित भएको छ। सडक अवरोधसम्बन्धी विवरणअनुसार केही खण्ड पूर्ण रूपमा बन्द छन् भने केहीमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।
बागमती प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोकको बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा अर्को सूचना जारी नभएसम्म सम्पूर्ण सवारीसाधन प्रभावित हुने जनाइएको छ। राति ७ देखि बिहान ४ बजेसम्म निश्चित प्रकारका मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको तथा अवस्था हेरी सवारी सञ्चालन गरिने उल्लेख छ।
त्यस्तै, रसुवाको मुख्य राजमार्ग बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ। अर्को सूचना नभएसम्म सडक सञ्चालनमा नआउने जनाइएको छ।
नुवाकोटमा टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। शिवपुरी गाउँपालिका–८ क्षेत्रमा पर्ने उक्त सडकमा राति १० देखि बिहान ५ बजेसम्म आवागमन बन्द गरिएको छ। नुवाकोटकै विदुर नगरपालिका–१० सिमटार क्षेत्रमा पासाङल्हामु सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध रहेको विवरणमा उल्लेख छ।
धादिङमा पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरोका कारण यातायात प्रभावित भएको छ। केही स्थानमा सडक पूर्ण अवरुद्ध भए पनि केही खण्डमा एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको जनाइएको छ। सडकको अवस्था हेरेर यात्रु तथा सवारीसाधन सञ्चालन गर्न आग्रह गरिएको छ।
यसैगरी, चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा सडक भासिने÷क्षतिग्रस्त हुने समस्या देखिएपछि गाडीको चाप हेरी एकतर्फी यातायात सञ्चालन भइरहेको उल्लेख छ।
कर्णालीमा पनि सडक अवरुद्ध
कर्णाली प्रदेशअन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका–५ क्षेत्रमा कर्णाली करिडोर पूर्ण रूपमा अवरुद्ध रहेको विवरणमा उल्लेख छ।
सम्बन्धित निकायले वर्षा, बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।





प्रतिक्रिया