काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले सुरक्षण मुद्रणका क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउँदै बाह्य बजार विस्तारमा जोड दिएका छन ।
सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित सुरक्षण मुद्रणसम्बन्धी विज्ञहरूको अनुभव आदानप्रदान कार्यक्रममा उनले नेपालमा आवश्यक सुरक्षणयुक्त कागजात तथा सामग्री स्वदेशमै उत्पादन गर्ने गरी सुरक्षण मुद्रण केन्द्रलाई सक्षम र व्यावसायिक बनाउनुपर्ने बताए।
सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्दै व्यावसायिक कारोबार गर्न सक्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय यसअघि नै गरिसकेको छ । उक्त निर्णयपछि केन्द्रलाई सरकारी आवश्यकताका सुरक्षणयुक्त सामग्री उत्पादन गर्ने निकायका रूपमा मात्र सीमित नराखी व्यावसायिक रूपमा सञ्चालन गर्ने तथा सेवा र उत्पादनलाई बाह्य बजारसम्म विस्तार गर्ने सम्भावनाबारे कार्यक्रममा छलफल भएको थियो ।
सञ्चारमन्त्री तिमिल्सिनाले सुरक्षण मुद्रणका लागि आवश्यक प्रविधि, दक्ष जनशक्ति र पूर्वाधार विकास गर्दै नेपाल क्रमशः आत्मनिर्भर बन्नुपर्ने बताए। देशभित्रै उत्पादन गर्न सकिने सुरक्षणयुक्त कागजात तथा सामग्रीका लागि विदेशमा निर्भर रहनुपर्ने अवस्था अन्त्य गर्दै केन्द्रलाई प्रतिस्पर्धी र व्यावसायिक बनाउनुपर्ने उनको धारणा थियो ।






प्रतिक्रिया