नेप्से परिसूचक १२ अंकले घट्दा लगानीकर्ताले १८ अर्ब गुमाए


नेपाल स्टक एकसचेन्ज(नेप्से) परिसूचक घट्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ । नेप्सेमा कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से सूचक १२ अंकभन्दा धेरैले घट्दा लगानीकर्ताले १८ अर्ब रुपैयाँ भन्दा धेरै गुमाएका छन् ।

बुधबार ५ अंक भन्दा धेरैले घटेको नेप्से सूचक बिहीबार १२.४७ अंकले घटेर २६३७.१३ अंकमा झरेको छ । नेप्से सूचक घटेको भएपनि कारोबार रकममा देखिएको सुधारले भने लगानीकर्तामा दुविधा बढेको देखिन्छ । घट्दो बजारमा कारोबार रकम बढ्नु भनेको जोखिम बढ्न थालेको भनेर पनि बुझिन्छ । त्यसैले लगानीकर्तालाइ शेयर होल्ड गर्नु वा बिक्री गरेर लस मिनिमाइज गर्नु भन्ने निर्णय गर्न जटिल भएको देखिन्छ । पछिल्लो समयमा कोरोनाको दोस्रो लहरका कारण अधिकासं जिल्लामा निषेधाज्ञा लागु गरिएको अवस्था छ । यस्तो अवस्थामा आर्थिक गतिविधि झनै प्रभावित हुने भएकाले पनि लगानीकर्ताको आत्मबल कमजोर भएको हुन सक्छ ।

बिहीबार नेप्सेमा करिब ७ अर्ब रुपैयाँ बरावरको शेयर खरिद बिक्री भएको छ । यो कारोबार रकम बुधबारको तुलनामा धेरै हो । बुधबार नेप्सेमा ६ अर्ब २१ करोड रुपैयाँको मात्र कारोबार भएको थियो ।

बुधबार र बिहीबार निरन्तर घटेको बजारमा लगानीकर्ताको सम्पत्ती पनि सोही अनुसार घटेको छ । बिहीबार मात्र लगानीकर्ताको १८ अर्ब रुपैयाँ बरावरको सम्पत्ती गुमाएका छन् । बुधबार ३६ खर्ब ७६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण बिहीबार घटेर ३६ खर्ब ५८ अर्ब रुपैयाँमा सिमित भएको छ ।

नेप्से परिसूचक घटेपछि लगानीकर्ताको सम्पत्ती स्वभावैले घट्छ । नेप्सेको कुल बजार पूँजीकरण भने सुचीकृत शेयर बजार मूल्य र शेयर संख्याको गुणनफल हो । बजार सूचक घटेपछि कम्पनीको शेयर मूल्य घट्ने भएकाले कुल बजार पूँजीकरणमा पनि त्यसले असर गर्छ ।
बिहीबार कारोबार सुरु हुँदा २६५७.२ अंकमा रहेको नेप्से १२.४७ अंकले घटेर बन्द हुँदा २६३७.१३ अंकमा झरेको छ ।

बिहीबार बैंकिङ समूहका कम्पनीको शेयर मूल्यमा केही सुधार आएको भएपनि त्यसले समग्र बजार सूचकलाई प्रभाव पार्न सकेन । नेप्सेमा कारोबार भएका बैंकिङ, वित्त र लगानी समूहमा सुधार आएको भएपनि अन्य सबै समूहहरु घटेका छन् ।

बिहीबार नेप्सेमा कारोबार भएका समूह मध्ये व्यापार ६२.९९, होटल तथा टुरिजम ४४.४, विकास बैंक १३.८५, जलविद्युत ४९.३९, निर्जीवन बीमा १३०.३१, उत्पादन मूलक ३७.८२, अन्य २३.७२, लघुवित्त ६३.८५, जीवन बिमा २३९.३३ र सामुहिक लगानी कोष ०.०८ अंकले घटेबका छन् । तर, बैंकिङ ७.११, वित्त ३.८५ र लगानी समूह ०.१५ अंकले बढेका छन् ।

नेप्सेमा २१६ कम्पनीको ८० हजार एक सय ४१ करोबारबाट ६ अर्ब ८१ करोड रुपैयाँ बरावरको एक करोड ५९ लाख ८० हजार कित्ता शेयर खरिद बिक्री भएका छन् । यो कारोबार रकम बुधबारको तुलनामा धेरै हो ।

बिहीबार नेप्से सूचक घटेपनि खनि खोला जलविद्युत कम्पनी, जनउत्थान सामुदायिक लघुवित्त, महिला लघुवित्त, समता लवुवित्त वित्तय संस्था तथा रुरु जलविद्युत कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।