साझा यातायातको डिजिटल टिकटिङमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सहकार्य


काठमाडौँ। सार्वजनिक यातायातलाई प्रविधिमैत्री, पारदर्शी तथा आधुनिक बनाउने उद्देश्यले साझा यातायातले डिजिटल टिकटिङ प्रणाली सञ्चालनमा ल्याउने पहल अघि बढाएको छ । यस अभियानमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले डिजिटल टिकटिङ प्रणालीको भुक्तानी साझेदारका रूपमा सहकार्य गरेको छ ।

सहकार्यअन्तर्गत साझा बसका यात्रुले डिजिटल माध्यमबाट सहज, सुरक्षित र पारदर्शी रूपमा भाडा भुक्तानी गर्न सक्ने व्यवस्था गरिनेछ । यसका लागि साझा बसमा बैंकका पीओएस मेसिन प्रयोग गरी कार्ड तथा अन्य डिजिटल माध्यमबाट टिकटको भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

साझा यातायातले डिजिटल रूपान्तरणअन्तर्गत आधुनिक कमाण्ड एन्ड कन्ट्रोल सेन्टरसहित विभिन्न प्रविधिमैत्री सेवा सञ्चालनमा ल्याएको जनाएको छ । डिजिटल टिकटिङ प्रणालीमार्फत नगदरहित यात्रालाई प्रवर्द्धन गर्ने तथा विभिन्न डिजिटल भुक्तानी माध्यमलाई समेट्ने व्यवस्था गरिएको छ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले सार्वजनिक यातायात क्षेत्रमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्दै सुरक्षित र सहज डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले सहकार्य गरिएको जनाएको छ । बैंकका अनुसार यस सहकार्यले सार्वजनिक यातायातमा डिजिटल भुक्तानीको प्रयोग विस्तार, नगदरहित कारोबारको प्रवर्द्धन तथा यात्रु सेवाको आधुनिकीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: ४ आश्विन २०८३, आइतबार  ०८ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।