दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : तनहुँका सबै सामुदायिक वनमा रुख कटान स्वीकृति

दमौली । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर २२० केभी प्रसारण लाइनका लागि तनहुँतर्फका सबै सामुदायिक वनमा रुख कटानको कानुनी स्वीकृति प्राप्त भएको छ।

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्रसारण लाइन क्षेत्रभित्र पर्ने रुखको छपान तथा टाँचा लगाउने काम सम्पन्न भएपछि डिभिजन वन कार्यालयले थप १२ सामुदायिक वनमा प्रवेश गरी रुख कटान गर्न स्वीकृति दिएको हो। यससँगै प्रसारण लाइन क्षेत्रभित्र पर्ने तनहुँका १७ वटै सामुदायिक वनमा रुख कटानका लागि आवश्यक स्वीकृति प्राप्त भएको छ।

प्रसारण लाइनअन्तर्गत देवघाट गाउँपालिकामा पाँच, बन्दीपुर गाउँपालिकामा छ र व्यास नगरपालिकामा छवटा सामुदायिक वन रहेका छन्। चितवनतर्फ भने रुख कटानको काम जारी रहेको आयोजना प्रमुख भण्डारीले जानकारी दिनुभयो।

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणको प्याकेज–३ अन्तर्गत करिब ३५ किलोमिटर क्षेत्रमा ९४ वटा टावर निर्माण गर्नुपर्नेछ। निर्माण व्यवसायी केइसी इन्टरनेशनल लिमिटेड, भारतले हालसम्म ८३ वटा टावरको जग निर्माण तथा ७८ वटा टावर जडानको काम सम्पन्न गरेको छ।

आयोजना प्रमुख भण्डारीका अनुसार प्याकेज–३ को समग्र निर्माण प्रगति ८२ प्रतिशत पुगेको छ। रुख कटानका लागि आवश्यक स्वीकृति प्राप्त भएसँगै प्रसारण लाइन निर्माणको बाँकी कामलाई थप गति दिन सहज हुने आयोजनाको अपेक्षा छ।

तनहुँ जलविद्युत् आयोजनाको निर्माण कार्य तीनवटा प्याकेजमा भइरहेको छ। प्याकेज–१ अन्तर्गत बाँधलगायतका संरचना निर्माणको जिम्मेवारी सोङ्दा कालिका जेभीले लिएको छ। उक्त प्याकेजको निर्माण प्रगति ६३ प्रतिशत पुगेको छ।

त्यस्तै, प्याकेज–२ अन्तर्गत विद्युत्गृह तथा सम्बन्धित उपकरण निर्माणको काम सिनो हाइड्रो कर्पोरेसन, चीनले गरिरहेको छ। यस प्याकेजको प्रगति ७९ प्रतिशत पुगेको छ।

आयोजनाको समग्र निर्माण प्रगति भने ७८ प्रतिशत रहेको जनाइएको छ।

प्रकाशित मिति: ५ आश्विन २०८३, सोमबार  ०७ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।