निषेधाज्ञामा पनि खुला रहेको शेयर बजारमा ३३ अर्बको कारोबार, एक सातामा नेप्से २६ अंकले बढ्यो


कोरोनाको दोस्रो लहर संक्रमण नियन्त्रणका लागि देशका अधिकांस जिल्लाहरुमा निषेधाज्ञा जारी भएपनि त्यसले शेयर बजारलाई खासै फरक पारेन । निषेधाज्ञासंगै जारी रहेको शेयर बजारमा यो साता ३३ अर्ब रुपैयाँ बरावरको धितोपत्र खरिद बिक्री भएको छ ।

यो साता नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा ५ दिन शेयर खरिद बिक्री भएको छ । सो अवधिमा नेप्से सूचक २६ अंक भन्दा धेरैले घटेको छ भने धितोपत्र बजारको आकार पनि ३७ अर्ब ९३ करोड रुपैयाँले बढेको छ ।

यो साता नेप्सेमा कारोबार भएको पहिलो दिन आइतबार बजार सूचक ५३.९९ अंकले बढेको थियो । तर, दोस्रो दिन सोमबार भने नेप्से सूचक १२.३४ अंकले घटेको थियो । त्यसैगरी मंगलबार करिब २ अंबले बढेको नेप्से सूचक बुधबार ५.०९ र बिहीबार १२.४७ अंकले घटेको थियो ।

यो साताको पहिलो दिन आइतबार कारोबार सुरु हुँदा २६११.११ अंकमा रहेको नेप्से सूचक साताभरमा २६.१३ अंकले बढेर २६३७.१३ अंकमा झरेको छ । यो साता नेप्से सूचक संगै सेन्सेटिभ इण्डेक्स पनि ४.०२ अंकले बढेको छ ।

लकडाउन भएको खण्डमा बैंकिङ प्रणालीमा निक्षेप बढ्ने तथा ब्याजदर झनै घट्न जाने भएकाले शेयर बजारमा सुधार आउने अनुमान आम लगानीकर्ताका थियो । तर, धितोपत्र बजार लगानीकर्ताको अनुमान भन्दा ठिक विपरित उतारचढाव आएको छ ।

त्यसका साथै धितोपत्र बजारमा बैंकिङ क्षेत्रका अधिक लगानी नेपाल राष्ट्र बैंकले नियन्त्रण गर्न सक्ने अनुमानले पनि बजारमा उचारचढाव धेरै आएको हुन सक्छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समिक्षा मार्फत शेयर बजारमा जाने लगानीलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा नियन्त्रण गर्ने संकेत दोस्रो त्रैमासिक समिक्षा मार्फत नै दिइसकेको छ ।

यो साता नेप्सेमा कारोबार भएका समूहहरु मध्ये बैंकिङ ४.५९, ब्यापार १०३.५४, जलविद्युत ३२.५४, वित्त १६.९५, निर्जीवन बीमा २१३.३०, माइक्रोफाइनान्स २४३.८४, जीवन बीमा १८६.१६ र लगानी समूह १.०६ अंकले बढेकोपछि समग्र बजार सकारात्मक भएको हो । तर, यो साता होटल तथा टुरिजम समूह २७.८१, विकास बैंक २४.०८, उत्पादन मूलक ११.९८ र अन्य समूह १.८० अंकले घटेका छन् ।

यो नेप्सेमा २ सय भन्दा धेरै कम्पनीको शेयर खरिद बिक्री भएको छ । नेप्सेमा ३ लाख ९९ सय हजार १ सय १७ कारोबारबाट ३३ अर्ब ९६ करोड ९२ लाख रुपैयाँ बरावरको ७ करोड ५६ लाख ४ हजार ८ सय ८५ कित्ता शेयर खरिद बिक्री भएको छ । यो कारोबार रकम गत साताको तुलनामा करिब ७ अर्बले धेरै हो । गत साता नेप्सेमा २७ अर्ब ३३ करोड रुपैयाँ बरावरको शेयर कारोबार भएको थियो ।

यो साता धितोपत्र बजारको आकार पनि ३७ अर्ब ९३ करोड रुपैयाँले बढेको छ । गत साताको अन्तिम दिन बिहीबार नेप्सेको कुल बजार पूँजीकरण ३६ खर्ब २० अर्ब रुपैयाँ रहेकोमा यो साता नेप्सेमा कारोबार भएको अन्तिम दिन बिहीबार ३६ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।