काठमाडौँ । भोटेकोसीमा आएको बाढी तथा विभिन्न क्षेत्रमा भएको डुबानका कारण प्रभावित अटोमोबाइल व्यवसायीलाई आवश्यक सहजीकरण तथा समन्वय गर्ने नाडाले जनाएको छ ।
बाढी तथा डुबानका कारण देशका विभिन्न क्षेत्रमा अटोमोबाइल व्यवसायसँग सम्बन्धित पूर्वाधारमा क्षति पुगेको तथा भन्सार नाकालगायतका स्थानमा रहेका आयातित सवारीसाधनमा समेत क्षति पुगेको नाडाले जनाएको छ । कतिपय सवारीसाधन हराएको तथा व्यवसायीका गोदाम, कार्यालय, उपकरण र अन्य व्यावसायिक सम्पत्तिमा क्षति पुगेको जानकारी आएको संघले जनाएको छ ।
प्रभावित व्यवसायीलाई सहयोग गर्ने उद्देश्यले नाडाले सरकारी निकाय, बीमा कम्पनी, बैंक तथा वित्तीय संस्था, भन्सार कार्यालयलगायत सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक समन्वय तथा पहल सुरु गरेको जनाएको छ ।
नाडाले प्रभावित सदस्य कम्पनीहरूलाई बाढी तथा डुबानबाट भएको क्षतिको यथार्थ तथा प्रमाणित विवरण सचिवालयमा उपलब्ध गराउन आग्रह गरेको छ । विवरणमा क्षति भएका तथा हराएका सवारीसाधन, सवारीसाधन रहेको स्थान र सम्बन्धित भन्सार नाका, सवारीसाधनको संख्या तथा प्रकार, गोदाम र कार्यालयमा भएको क्षति, बीमा गरिएको सम्पत्ति, बीमा दाबीका लागि आवश्यक कागजात तथा बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋणसम्बन्धी विवरण समावेश गर्न आग्रह गरिएको छ ।
प्राप्त विवरणका आधारमा क्षतिको समग्र अभिलेखीकरण गरी सम्बन्धित निकायसँग आवश्यक सहजीकरण गरिने नाडाले जनाएको छ । बीमा दाबी प्रक्रिया सहज बनाउन बीमा कम्पनीसँग समन्वय गर्ने तथा भन्सार नाकामा रहेका हराएका वा क्षतिग्रस्त सवारीसाधनको पहिचान र आवश्यक प्रक्रियाका लागि सम्बन्धित भन्सार कार्यालयसँग पहल गरिने संघको भनाइ छ ।
त्यस्तै, प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको पुनर्संरचना, भुक्तानी अवधि पुनरावलोकनलगायत सम्भावित सहजीकरणका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने नाडाले जनाएको छ ।
अटोमोबाइल क्षेत्रमा परेको क्षतिको समग्र विवरण सरकार तथा सम्बन्धित सरोकारवाला निकायसमक्ष प्रस्तुत गरी आवश्यक राहत, सहजीकरण तथा नीतिगत सम्बोधनका लागि पहल गरिने संघले जनाएको छ । प्रभावित सदस्यहरूको समस्या प्रभावकारी रूपमा सम्बन्धित निकायसम्म पुर्याउन आवश्यकताअनुसार समन्वय तथा सहजीकरण समिति गठन गर्ने तयारीसमेत नाडाले गरेको छ ।
नाडाले बाढी तथा डुबानबाट प्रभावित आफ्ना सदस्य व्यवसायीलाई यथार्थ क्षतिको विवरण यथाशीघ्र सचिवालयमा उपलब्ध गराई आवश्यक समन्वय तथा सहजीकरणमा सहयोग गर्न आग्रह गरेको छ ।







