माग बढ्न नसक्दा कर्जा प्रवाह सुस्त


काठमाडौँ । बैंक तथा वित्तीय परिसङ्घ (सिबिफिन) का कार्यवाहक अध्यक्ष राजेश उपाध्यायले अर्थतन्त्रमा माग कम हुँदा बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह हुन नसकेको बताएका छन् ।

सिबिफिनले आयोजना गरेको अन्तरक्रियामा उपाध्यायले उपभोग गर्ने जनशक्तिमा आएको कमी र नीतिगत अस्थिरताका कारण समग्र अर्थतन्त्रमा माग कमजोर भएको बताए। “कर्जाको मुख्य कुरा माग नै हो, ब्याजदर कम हुँदा पनि कर्जा प्रवाह अपेक्षाकृत रूपमा नबढ्नुको कारण मागमा आएको उल्लेख्य कमी नै हो,” उनले भने ।

उपाध्यायले नेपालको प्राकृतिक स्रोतसाधनको पर्याप्त उपयोग हुन नसकेको पनि उल्लेख गरे । वन, जडीबुटी तथा काठलगायत स्रोतको अधिकतम उपयोगमार्फत निर्यात र आर्थिक गतिविधि विस्तार गर्न सकिने उनको भनाइ थियो । साथै मुलुकको आर्थिक विकासका लागि कानुनी तथा नीतिगत सुधार पनि आवश्यक रहेको उनले उल्लेख गरे ।

“देशको व्यवस्थापनको मोडल परिवर्तन गर्नुपर्ने बेला आएको छ । देशलाई व्यावसायिक र कार्यसम्पादनमा आधारित व्यवस्थापन शैलीबाट अघि बढाउनुपर्छ”, उनले भने । सरकारले हाल १६६ कानुन संशोधन गर्न लागेको उल्लेख गर्दै उनले यसबाट पनि अर्थतन्त्रको विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।

हालै रसुवाको भोटेकोशी बाढीले अर्थतन्त्रमा ठूलो प्रभाव पारेको उल्लेख गर्दै कार्यबाहक अध्यक्ष उपाध्ययले बैंकिङ तथा लगानी निर्णयमा जलवायु र विपद् जोखिमलाई समेट्नुपर्नेमा जोड दिए। विशेषगरी जलविद्युत् क्षेत्रमा गरिएको लगानीमा जोखिम व्यवस्थापन आवश्यक रहेको उनको भनाइ थियो ।

सिबिफिनका महासचिव मनोज गोयलले बैंकिङ क्षेत्र अप्ठ्यारो अवस्थामा भए पनि जटिल नभएको उल्लेख गर्दै सामान्य सुधारले पनि तङ्ग्रिन सक्ने तर्क गरे । नेपालको हरेक क्षेत्रमा लगानीको सम्भावना रहेको उनको भनाइ थियो । तर त्यसका लागि लगानीमैत्री वातावरण आवश्यक भएको उनले उल्लेख गरे । उनले बाढीका कारण ठूलो क्षति भएको बताए। “रसुवा बाढीका कारण यो क्षेत्रमा पनि क्षति भएको छ, विशेषगरी ऋणीहरूलाई समस्या परेको छ, केन्द्रीय बैंकले यसमा सहजीकरण गर्ने अपेक्षा छ”, उनले भने।

प्रकाशित मिति: ८ आश्विन २०८३, बिहिबार  ०७ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।