काठमाडौँ । नेपालीहरुको प्रमुख चाड दसैँ नजिकिँदै जाँदा बजारमा खसीबोकाको माग बढ्न थालेको छ । दसैँमा मासुको खपत अन्य समयको तुलनामा उल्लेख्य रूपमा बढ्ने भएकाले खसीबोकाको कारोबारसमेत तीव्र हुने गरेको छ ।
विशेषगरी घटस्थापनापछि राजधानीसहित देशका प्रमुख सहरमा खसीबोकाको माग उच्च हुने व्यवसायीहरू बताउँछन् ।
दसैँलाई लक्षित गरेर किसान, व्यापारी तथा मासु व्यवसायीले खसीबोका बजारमा ल्याउने तयारी गरिरहेका छन् । गाउँघरमा किसानले वर्षभरि पालेका खसीबोका दसैँको समयमा बिक्री गर्ने भएकाले यो पर्व ग्रामीण अर्थतन्त्रसँग पनि प्रत्यक्ष जोडिएको छ । दसैँमा खसीबोका बिक्रीबाट किसानले राम्रो आम्दानी गर्ने भएकाले धेरै परिवारले व्यावसायिक रूपमा बाख्रापालन गर्दै आएका छन् ।
दसैँमा घरपरिवार, आफन्त तथा साथीभाइसँग जमघट हुने र मासुका परिकार खाने चलन रहेको छ । विशेषगरी काठमाडौँ उपत्यकामा दसैँका लागि बाहिरी जिल्लाबाट ठूलो संख्यामा खसीबोका भित्रिने गरेका छन् । मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, चितवन, गोरखा, तनहुँलगायत जिल्लाबाट खसीबोका राजधानीमा आउने गरेका छन् ।
गत वर्षतिर ३०-४० हजार चौपायाको माग हुने गरेकोमा यस वर्ष माग कम हुने देखिएको छ । यस वर्ष विशेषरी बाढीका कारण नेपालीहरुको चाडपर्व प्रभावित बनेको छ । विभिन्न राजमार्गहरु अवरुद्ध भएका छन् । मुलुक संकटमा परिरहेको समयमा माग कम हुने अनुमान रहेको कलंकीस्थित चौपाया खरिद–बिक्री केन्द्रका अध्यक्ष जीवनराज खतिवडाले बताएका छन् ।
त्यसैपनि यस वर्ष खसीबोकाको उत्पादन कम भएकाले अहिले नै बजारमा मागअनुसार आपूर्ति हुन नसकेको उनले जानकारी दिए । ‘हामीले दसैंका लागि आवश्यक खसीबोका उत्पादनको अवस्थाबारे विभिन्न जिल्लाबाट जानकारी संकलन गरिरहेका छौँ ।’ उनले भने, ‘अहिले यति नै माग हुन्छ भन्ने अनुमान गरेका छैनौँ ।’
हरेक वर्ष दसैंको समयमा बजारमा हुने मागको अनुपातमा खसीबोका ल्याउने तयारी रहेको उनको भनाई छ ।
उनका अनुसार, खसीबोकाको उत्पादन कम भएकाले अहिले नै बजारमा अभाव छ । मागअनुसार खसीबोका बजारमा भित्रिएका छैनन् । उत्पादन कम भएकाले यस वर्ष दसैंमा खसीबोकाको मूल्य केही महँगो हुने उनले बताए ।
‘पछिल्लो समय भारतमा समेत खसीबोकाको मूल्य बढेको छ ।’ उनले भने, ‘त्यसको असर नेपाली बजारमा परेका छ, उपत्यकामा मात्र नभई अन्य जिल्लामा पनि यतिबेला खसी मासुको मूल्य वृद्धि भएको छ ।’
हाल कलंकीको खसीबजारमा दैनिक ४-५ सय खसीबोका भित्रिने गरेका छन् । बजारको मागअनुसार आपूर्ति हुन नसक्दा जिउँदो खसीको मूल्य नै प्रतिकिलो ८५० रुपैयाँ पुगेको उनले जानकारी दिए ।
उनका अनुसार, अन्य समयमा नै खसीको मासु प्रतिकेजी १४-१५ सय पुगेपछि दशैँको समयमा केही महँगो त परिहाल्छ । त्यस माथि सडक अवरुद्ध हुँदा ढुवानी खर्च बढ्ने उनको भनाई छ ।
गत वर्षतिर चीनतर्फबाट केही मात्रामा च्याङ्गा आयात हुने गरेको थियो, तर यस वर्ष त चीनतर्फको नाका पनि बन्द भएकाले च्याङ्ग्रा आयात गर्न पनि सम्भव नरहेको उनको भनाई छ ।
किसानका लागि आम्दानीको अवसर
दसैँको समयमा खसीबोकाको माग बढ्नु किसानका लागि आम्दानीको महत्वपूर्ण अवसर पनि हो । ग्रामीण क्षेत्रमा धेरै किसानले घरायसी प्रयोजनका लागि पालिएका खसीबोका दसैँमा बिक्री गर्ने गर्छन् ।
बाख्रापालनबाट नियमित आम्दानी लिन सकिने भएकाले पछिल्लो समय किसानहरू व्यावसायिक बाख्रापालनतर्फ आकर्षित हुँदै आएका छन् । दसैँमा बजारमा राम्रो मूल्य पाउने अपेक्षामा किसानले खसीबोकालाई निश्चित समयसम्म हुर्काउने गरेका छन् ।
खसीबोकाको बिक्रीबाट प्राप्त आम्दानीले किसानको दैनिक आवश्यकता, बालबालिकाको शिक्षा, कृषि सामग्री खरिद तथा अन्य घरायसी खर्च धान्न सहयोग पुग्ने गरेको छ । त्यसैले दसैँको बजारले उपभोक्तालाई मासु उपलब्ध गराउने मात्र नभई ग्रामीण उत्पादनलाई बजारसँग जोड्ने काम पनि गर्छ ।
तर किसानले उत्पादन गरेको खसीबोकाले उपभोक्ता बजारमा पाउने मूल्य र किसानले पाउने मूल्यबीच ठूलो अन्तर देखिएमा त्यसको लाभ बिचौलियाले लिने जोखिम रहन्छ । किसानबाट कम मूल्यमा खरिद गरेर विभिन्न तहका व्यापारी हुँदै उपभोक्तासम्म पुग्दा मूल्य बढ्ने भएकाले उत्पादनदेखि बिक्रीसम्मको मूल्य शृंखला पारदर्शी बनाउनुपर्ने देखिन्छ ।
त्यस्तै, खसीबोकाको मूल्यमा उत्पादन लागतसँगै ढुवानी खर्चको समेत प्रभाव पर्छ । ग्रामीण क्षेत्रबाट राजधानी तथा ठूला सहरसम्म खसीबोका ल्याउँदा यातायात, श्रमिक, व्यवस्थापन तथा अन्य खर्च थपिने व्यापारीहरु बताउँछन् ।
व्यवसायीहरुका अनुसार, दसैँको समयमा एकैपटक खसीबोकाको माग बढ्ने भएकाले बजार व्यवस्थापन चुनौतीपूर्ण बन्ने गरेको छ । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले अस्वस्थ वा रोगी पशु बजारमा नआउने व्यवस्था गर्न पशु स्वास्थ्य परीक्षण प्रभावकारी बनाउनुपर्ने हुन्छ ।









