निषेधाज्ञामा १० अर्ब निक्षेप संकलन गरेका बैंकहरुद्धारा १५ अर्ब कर्जा प्रवाह


कोरोना भाइरसको दोस्रो लहरको संक्रमण तिब्र गतिमा बढ्न थालेपछि नियन्त्रणका लागि सरकारले बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको छ । यो अवधिमा पनि बैंकहरुले १० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका हुन् ।

निषेधाज्ञाको अवधिमा पनि सरकारले बैंकहरुलाई अति आवश्यकीय क्षेत्रको रुपमा राखी सीमित सेवा प्रदान गर्न भनेको छ । सोही अनुसार बैंकहरुले सीमित कर्मचारी मार्फत सीमित सेवा प्रदान गर्दै आएका छन । बैंकहरुले निषेधाज्ञाको अवधिमा गरेको कार्यसम्पादन हेर्दा नियमित भन्दा फरक देखिँदैन ।

बैंकहरुले २०७८ बैशाख महिनाको १७ गतेदेखि २४ गते सम्ममा मात्र १० अर्ब निक्षेप र १५ अर्ब कर्जा लगानी गरेको अवस्था छ । तर, बैंकहरुले बैशाख महिनामा भने ११ अर्ब निक्षेप घटेको छ भने ३६ अर्ब रुपैयाँ कर्जा बढेको अवस्था छ ।

निषेधाज्ञा सुरु हुने कुरासंगै बैंकहरुबाट निक्षेप बाहिरन थालेको थियो । निषेधाज्ञा सुरु भैसकेपनि भने क्रमिक रुपमा निक्षेपमा केही सुधार आउन थालेको देखिन्छ । लकडाउनका लागि आवश्यक दैनिक उपभोग्य वस्तु जोहो गर्नका लागि निक्षेपकर्ताले रकम झिक्न थालेपछि निक्षेप घटेको थियो ।

नेपाल बैंकर्स संघका अनुसार वैशाख १० गतेसम्ममा २७ वाणिज्य बैंकहरुबाट २२ अर्ब बराबरको निक्षेप घटेको छ । गत चैत्र ३१ गतेसम्म वाणिज्य बैंकहरुमा ३९ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप रहेकोमा बैशाख १० गतेसम्म आइपुग्दा ३९ खर्ब २२ अर्ब रुपैयाँमा झरेको थियो । त्यसपछि दुई सातामा भने बैंकहरुमा क्रमिक रुपमा पुनः निक्षेप थपिन थालेको छ ।

तर, बैशाख २४ गतेसम्ममा वाणिज्य बैंकहरुको मात्र मुल निक्षेप ३९ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन भने ३६ खर्ब ९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैशाख महिनाका सुरुका सातामा निक्षेप घटेको भएपनि पछिल्ला साताहरुमा थपिन थालेको छ । तर, कर्जा प्रवाह भने बैशाख महिनाका हरेक साता निरन्तर रुपमा बढी नै रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।