कुलेखानीमा जलसतह बढेपछि देउराली–सिस्नेरी सडक ४ बजेदेखि बन्द


हेटौँडा । लगातारको वर्षाका कारण कुलेखानी जलाशयको पानीको सतह बढ्नेक्रम नरोकिएपछि देउराली–सिस्नेरी सडकखण्डमा आज अपराह्न ४ बजेदेखि सवारी आवागमन बन्द गरिने भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले आज अपराह्न ४ बजेदेखि सोमबार बिहान ५ बजेसम्म उक्त सडकखण्डमा दुवैतर्फ सवारी सञ्चालन रोक्ने निर्णय गरिएको जानकारी दिए ।

उनका अनुसार जलाशयको सतह निरन्तर बढिरहेका अवस्थामा रातिको समयमा आकस्मिक परिस्थिति उत्पन्न भई बाँधबाट पानी निकास गर्नुपर्ने अवस्था आउनसक्ने भएकाले पूर्वसावधानीस्वरूप सवारी आवागमन बन्द गर्न लागिएको हो । “सवारी चलिरहेको अवस्थामा चेतावनीको साइरन बज्दा चालक तथा यात्रुमा त्रास सिर्जना हुनसक्ने र आकस्मिक रूपमा पानी निकास गर्नुपर्ने अवस्था आए सडकखण्डका केही स्थान जोखिममा पर्नसक्ने भएकाले समयमै आवागमन रोक्ने निर्णय गरिएको हो”, प्रमुख जिल्ला अधिकारी अधिकारीले भने ।

प्रशासनका अनुसार भैँसे हुँदै देउराली–सिस्नेरीतर्फ जाने तथा काठमाडौँको फर्पिङ हुँदै सिस्नेरी–देउराली–हेटौँडातर्फ आउने सवारीसमेत सो अवधिमा सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक रूपमा काठमाडौँ–हेटौँडा यात्रा गर्नुपर्ने यात्रुलाई त्रिभुवन राजपथ प्रयोग गर्न आग्रह गरिएको छ । उक्त राजपथमा पनि जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको समयतालिकाअनुसार मात्रै सवारी सञ्चालन गर्नुपर्ने प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी अधिकारीले हाल कुलेखानी बाँधको ढोका खोलिएको नभई सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्वसावधानी अपनाइएको स्पष्ट पारे । जलाशय र तल्लो तटीय क्षेत्रको अवस्थाको निरन्तर निगरानी भइरहेको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति: ११ आश्विन २०८३, आइतबार  १६ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।