काठमाडौँ । एबीपी इनर्जी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
एबीपी इनर्जी र सिद्धार्थ क्यापिटलबीच असोज ८ गते आईपीओ निष्कासनसम्बन्धी सम्झौता भएको हो। सम्झौतामा एबीपी इनर्जीका अध्यक्ष पूर्णलाल श्रेष्ठ र सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्कीले हस्ताक्षर गरेका छन्।
सम्झौतासँगै कम्पनीको प्रस्तावित आईपीओ निष्कासन तथा व्यवस्थापनसम्बन्धी प्रक्रिया प्रचलित कानुन, नियामकीय व्यवस्था र सम्बन्धित निकायबाट प्राप्त हुने स्वीकृतिअनुसार अघि बढाइने कम्पनीले जनाएको छ। आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा सिद्धार्थ क्यापिटलले काम गर्नेछ।
एबीपी इनर्जीले नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा ८ मेगावाट क्षमताको तादी घ्याङफेदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। यो आयोजना तादी खोलाको पानी प्रयोग गर्ने रन–अफ–रिभर प्रकृतिको हो। विद्युत् विकास विभागको विवरणमा पनि तादी घ्याङफेदी आयोजना ८ मेगावाट क्षमताको रहेको देखिन्छ।
आयोजनाको कुल लागत १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ। कम्पनी र सिद्धार्थ बैंकबीच भएको ऋण सम्झौताअनुसार आयोजनामा बैंकले १ अर्ब २३ करोड रुपैयाँ ऋण लगानी गर्नेछ। बाँकी रकम कम्पनीको स्वपुँजीबाट जुटाउने योजना छ। यसअघि भएको ऋण सम्झौतासम्बन्धी विवरणमा पनि कुल लागतको करिब ७५ प्रतिशत बराबर रकम बैंक ऋणबाट व्यवस्थापन गर्ने उल्लेख छ।
कम्पनीका अनुसार आयोजनाको भौतिक प्रगति ६० प्रतिशतभन्दा बढी भइसकेको छ। आयोजनाबाट २०८४ वैशाख मसान्तसम्म व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ।
आयोजनाले वार्षिक करिब ४ करोड ८७ लाख युनिट विद्युत् उत्पादन गर्ने अनुमान गरिएको छ। सार्वजनिक विवरणअनुसार आयोजनाको सुक्खायामको उत्पादन करिब १ करोड ५९ लाख ७० हजार युनिट र वर्षायामको उत्पादन करिब ३ करोड २७ लाख ७० हजार युनिट रहने अनुमान छ।
एबीपी इनर्जीका सञ्चालक समूहमा जलविद्युत् क्षेत्रमा अनुभव भएका पूर्णलाल श्रेष्ठ र बलराम खतिवडाका साथै प्रविधि क्षेत्रका उद्यमी तथा एफवान सफ्ट र इसेवाका संस्थापक असगर अली रहेका छन्।
कम्पनीले जलस्रोतको उपयोग गर्दै स्वच्छ तथा नवीकरणीय ऊर्जा उत्पादनमा योगदान गर्ने लक्ष्य लिएको जनाएको छ। प्रस्तावित आईपीओ भने सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त भएपछि मात्रै निष्कासन हुनेछ ।







