ग्लोबल आइएमई क्यापिटलको साधारण सभा सम्पन्न, २५ प्रतिशत लाभांश प्रस्ताव पारित


काठमाडौँ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना सेयरधनीलाई कुल २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

कम्पनीको बुधबार सम्पन्न १९ औँ वार्षिक साधारणसभाले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। सभाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदनसहित कम्पनीको वार्षिक प्रतिवेदन पनि पारित गरेको छ।

सञ्चालक समितिका अध्यक्ष दीपचन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न सभामा कम्पनीको वित्तीय अवस्था तथा गत आर्थिक वर्षको गतिविधिबारे छलफल भएको थियो ।

सभामा अध्यक्ष रेग्मीले मुलुकको आर्थिक गतिविधि सुस्त रहे पनि कम्पनीले सेयरधनीलाई प्रतिफल दिन सफल भएको बताए। कम्पनीको प्रगतिमा सहयोग गर्ने सेयरधनी, ग्राहक तथा सम्बन्धित सबै पक्षप्रति उनले धन्यवाद व्यक्त गरे।

ग्लोबल आइएमई बैंकको सहायक कम्पनीका रूपमा रहेको ग्लोबल आइएमई क्यापिटल नेपालको पहिलो मर्चेन्ट बैंकिङ कम्पनी रहेको कम्पनीले जनाएको छ। क्यापिटलले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्ध, लगानी व्यवस्थापन, संस्थागत परामर्शलगायत मर्चेन्ट बैंकिङसम्बन्धी सेवा दिँदै आएको छ।

आर्थिक गतिविधिमा सुस्तता रहे पनि मर्चेन्ट बैंकिङ व्यवसायबाट सेयरधनीलाई प्रतिफल वितरण गर्न सक्नु कम्पनीको वित्तीय अवस्थाका लागि सकारात्मक रहेको व्यवस्थापनले जनाएको छ ।

प्रकाशित मिति: १४ आश्विन २०८३, बुधबार  १७ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।