काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आजदेखि १२ दिनसम्म विद्युत् कटौती गरिने


काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आजदेखि १२ दिनसम्म विद्युत् आपूर्ति कटौती गरिने भएको छ ।

भूमिगत विद्युत वितरण प्रणालीलाई सञ्चालनमा ल्याउन तथा आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि आवश्यक कार्य गर्न काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती हुने भएको हो ।

कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा भूमिगत विद्युत वितरण प्रणालीसम्बन्धी काम तथा हिउँदको लोड व्यवस्थापनका लागि असोज १५ गतेदेखि २६ गतेसम्म विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिनेछ ।

सम्बन्धित क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति कटौती गरी भूमिगत लाइन सञ्चालनमा ल्याउने तथा आवश्यक प्राविधिक कार्य गरिनेछ ।

प्राधिकरणका अनुसार १५ असोजमा सतुंगल–बौथली क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।

१६ मा मच्छेगाउँ–दोभान चोक तथा खुसी चोक, १७ मा मुलपानी, १८ मा गुर्जुधारा र २० गते पुन: मुलपानी क्षेत्रमा लाइन काटिने छ ।

त्यस्तै, असोज २१ गते बलम्बु क्षेत्र, असोज २२ गते कोटेश्वर–बालकुमारी क्षेत्र, असोज २४ गते सिफल क्षेत्र, असोज २५ सतुंगल धौलागिरी आवास क्षेत्र र असोज २६ गते धोबीखोला क्षेत्रमा लाइन कटौती गरी भूमिगत लाइनको काम गरिनेछ ।

प्रकाशित मिति: १५ आश्विन २०८३, बिहिबार  ०७ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।