सन नेपाल लाइफले नवीकरण गर्‍यो आईएसओ २७००१:२०२२ प्रमाणीकरण


काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सूचना सुरक्षा व्यवस्थापन प्रणालीसम्बन्धी अन्तर्राष्ट्रिय मानक आईएसओ आईईसी २७००१:२०२२ को प्रमाणीकरण नवीकरण गरेको छ ।

कम्पनीका अनुसार प्रमाणीकरण नवीकरणले बीमित, ग्राहक तथा अन्य सरोकारवालाका संवेदनशील सूचनाको सुरक्षा र सूचना सुरक्षा व्यवस्थापनमा निरन्तर सुधारप्रतिको कम्पनीको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ ।

आईएसओरआईईसी २७००१:२०२२ सूचना सुरक्षा व्यवस्थापन प्रणालीसम्बन्धी अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त मापदण्ड हो । यसले संस्थालाई सूचना सुरक्षासम्बन्धी जोखिम पहिचान तथा मूल्याङ्कन गर्दै आवश्यक सुरक्षा उपाय लागू गर्न र तिनको प्रभावकारिता नियमित रूपमा समीक्षा तथा सुधार गर्न व्यवस्थित आधार प्रदान गर्छ ।

कम्पनीका अनुसार यस मानकले सूचनाको गोपनीयता, अखण्डता र उपलब्धतालाई मुख्य आधारका रूपमा लिएको छ । जीवन बीमा सेवामा ग्राहकको व्यक्तिगत विवरण, बीमालेख, भुक्तानी तथा दाबीसम्बन्धी अभिलेखको सुरक्षित व्यवस्थापन महत्वपूर्ण हुने भएकाले सूचना सुरक्षालाई कम्पनीले प्राथमिकतामा राख्दै आएको जनाएको छ ।

डिजिटल सेवाको विस्तारसँगै ग्राहकका संवेदनशील सूचनाको सुरक्षा अझ महत्वपूर्ण बन्दै गएको सन्दर्भमा प्रमाणीकरणको नवीकरणले कम्पनीको सूचना सुरक्षा व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने कम्पनीको भनाइ छ ।

सन नेपाल लाइफले सूचना सुरक्षालाई संस्थागत जिम्मेवारी तथा ग्राहकप्रतिको प्रतिबद्धताको महत्वपूर्ण हिस्सा मानेको जनाएको छ । कम्पनीले आगामी दिनमा सूचना सुरक्षासम्बन्धी जोखिम व्यवस्थापन, कर्मचारी सचेतना तथा प्रणाली र प्रक्रियाको निरन्तर सुधारमार्फत सुरक्षित, विश्वसनीय र ग्राहककेन्द्रित बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति: १५ आश्विन २०८३, बिहिबार  १० : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।