काठमाडौँ । नेपालको सार्वजनिक यातायात तथा मोबिलिटी क्षेत्रमा डिजिटल भुक्तानी विस्तार गर्न नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र जीआईजेडबीच सहकार्य भएको छ।
सम्झौतामा जीआईजेडका प्रोग्राम म्यानेजर डिएगो सिनियर र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
सहकार्यअन्तर्गत एनसीएचएलको राष्ट्रिय भुक्तानी पूर्वाधार प्रयोग गरी जीआईजेडको परियोजनामार्फत सार्वजनिक यातायातसम्बन्धी भुक्तानीलाई थप डिजिटल बनाइनेछ।
यसक्रममा यातायात टिकटिङ प्रणाली, मोबिलिटी एप्लिकेसन, उपकरण तथा अन्य डिजिटल प्लेटफर्मसँग नेपाल पे क्यूआर र कार्ड तथा कनेक्ट आईपिएस लगायतका भुक्तानी माध्यम एकीकृत गर्ने तयारी छ। एनसीएचएलका अनुसार यसले यात्रुलाई विभिन्न सार्वजनिक यातायात सेवामा एउटै डिजिटल भुक्तानी पूर्वाधारमार्फत भाडा तिर्न सहज बनाउनेछ।
सहकार्यअन्तर्गत ‘ओपन–लूप टिकटिङ’ प्रणालीलाई समेत प्रवर्द्धन गरिनेछ। यसबाट छुट्टाछुट्टै यातायात सेवाका लागि अलग कार्ड वा भुक्तानी प्रणाली प्रयोग गर्नुपर्ने बाध्यता कम हुँदै जाने अपेक्षा गरिएको छ।
यसले टिकटिङ, भाडा संकलन, कारोबार प्रोसेसिङ तथा सेटलमेन्टसम्मका प्रक्रियालाई डिजिटल बनाउन सहयोग गर्नेछ।
एनसीएचएलले एकीकरण, परीक्षण तथा डिप्लोयमेन्टका लागि आवश्यक एपीआई र प्राविधिक सहयोग उपलब्ध गराउनेछ। जीआईजेडले भने परियोजनाअन्तर्गत विकास भएका टिकटिङ प्रणाली, एप्लिकेसन तथा उपकरणमा एनसीएचएलका भुक्तानी माध्यम जोड्न सहजीकरण गर्नेछ।
एनसीएचएलले यस सहकार्यलाई सार्वजनिक यातायात तथा भविष्यमा विकास हुने मोबिलिटी सेवासम्म राष्ट्रिय डिजिटल भुक्तानी पूर्वाधार विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा लिएको छ।
सार्वजनिक यातायातमा नगदमा आधारित भाडा संकलनलाई क्रमशः डिजिटल प्रणालीतर्फ लैजाँदा यात्रुको सुविधा, कारोबारको पारदर्शिता र भाडा व्यवस्थापनमा समेत सुधार आउने अपेक्षा गरिएको छ।







