राष्ट्रिय बीमा कम्पनीको नाफामा ४९% को गिरावट, बीमाशुल्क १०% मात्र बढ्यो

0
Shares

राष्ट्रिय बीमा कम्पनी (RBCL) को चालु आवको तेस्रो त्रैमाससम्मको अवधिमा खुद नाफामा ४९.४७ प्रतिशतको भारी गिरावट देखिएको छ ।

गत आवको यसै अवधिमा ५३ करोड ४३ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा चालु आवको तेस्रो त्रैमासको अवधि सम्ममा खुम्चिएर २७ करोड १२ हजार रुपैयाँमा झरेको हो ।

यसैगरी कम्पनीले १९ करोड ३७ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा १०.८५ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा कम्पनीले १७ करोड ४७ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १३५.०२ रुपैयाँ रहेको छ । जगेडा कोषमा ३ अर्ब १० करोड रुपैयाँ सञ्चित रहेको कम्पनीको प्रति शेयर नेटवर्थ १२६३.८८ रुपैयाँ छ । कम्पनीको बीमा कोषमा २ अर्ब ३ करोड रुपैयाँ सञ्चित रहेको छ ।

कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशनबाट १३ करोड ७८ लाख ४६ हजार र लगानी, कर्जा तथा अन्य आयबाट १० करोड ५५ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले गत आवको यसै अवधिमा ५ करोड ८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेकोमा हाल ३ करोड ४३ लाख रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको छ । 

यस अवधिसम्ममा कम्पनीले ८ हजार ७२१ वटा दाबी वापत १४ करोड ७४ लाख २९ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले २ हजार १५१ वटा दाबी वापत ५ करोड ५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी स्थीर रहेको छ भने जगेडा कोषमा ६.४२ प्रतिशत, बीमा कोषमा ८.५१ प्रतिशत, पुनर्बीमा कमिशन आय १७.८८ प्रतिशतले बढ्दा आय ३८.७६ प्रतिशत, खुद दाबी भुक्तानीमा ३२.३० प्रतिशत र कर्जा तथा अन्य आय ३८.८० प्रतिशतले घटेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।