पूर्वरानी र राजकुमारी पनि अस्पतालबाट डिस्चार्ज

0
Shares

कोरोना संक्रमण भई २१ दिनअघि नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाह आज डिस्चार्ज भएकी छिन् ।

नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत उनी अपरान्ह ४ बजे अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनीसँगै पूर्व अधिराजकुमारी प्रेरणा शाह समेत अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।

कोरोना संक्रमण भई २१ दिनअघि नै नर्भिक अस्पतालमा भर्ना भएकी पूर्व राजा ज्ञानेन्द्र शाह केही दिनअघि नै डिस्चार्ज भैसकेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह बैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका हुन् । त्यसको २ दिनपछि पूर्वरानी र पूर्व अधिराजकुमारी समेत डिस्चार्ज भएका छन् ।

अस्पताल आएदेखि नै पूर्वरानी कोमल शाहको अवस्था बिग्रिन थालेको थियो । उनलाई अक्सिजनको हाइफ्लो सपोर्टमा राखेर उपचार गरिएको थियो । अक्सिजन निरन्तर घटेपछि आइसियूमा राखेर समेत केही दिन उपचार गरिएको थियो ।

प्लाज्मा थेरापी विधिबाटसमेत उपचार गरिएको थियो । निरन्तरको उपचारले उनको अवस्थामा पछिल्ला केही दिनदेखि सुधार आइरहेको थियो । क्रमिक रुपमा सुधार भइरहेको उनी अवस्था सामान्य बन्दै गएपछि डिस्चार्ज गरिएको हो ।

पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था सुरुवातदेखि नै सामान्य र स्थिर थियो ।

पूर्व राजा, पूर्व रानी र अधिराजकुमारीको उपचारमा नर्भिक अस्पतालका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवाल र चेस्ट फिजिसियन डा. बी श्रीवास्तव नेतृत्वको टिम संलग्न थियो । नर्भिकको टिमलाई पूर्व राजपरिवारका निजी चिकित्सकले पनि सहयोग गरेका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३१ बैशाख २०७८, शुक्रबार  १६ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।