जापानमा ३७ वर्षमा अमेरिकी सेना सम्बद्ध व्यक्तिविरुद्ध झण्डै ५ हजार आपराधिक घटना: प्रतिवेदन


जापानमा सन् १९८९ देखि सन् २०२६ को मे महिनासम्म अमेरिकी सेनाका सदस्य, नागरिक कर्मचारी तथा उनीहरूका परिवारका सदस्य संलग्न ४ हजार ९९८ आपराधिक घटना दर्ता भएका छन् । तीमध्ये झण्डै आधा घटना ओकिनावा प्रिफेक्चरमा भएका छन् ।

जापानी अखबार अकाहाताले राष्ट्रिय प्रहरी एजेन्सीको तथ्याङ्क उद्धृत गर्दै जनाएअनुसार, उक्त अवधिमा ओकिनावामा मात्रै २ हजार ४४७ आपराधिक घटना भएका छन्, जुन कुल घटनाको ४९ प्रतिशत हो । त्यसैगरी, कानागावामा १८.३ प्रतिशत र टोकियोमा ८.९ प्रतिशत घटना दर्ता भएका छन् ।
यस अवधिमा हत्या, डकैती, आगजनी र बलात्कारजस्ता गम्भीर अपराधका २६६ घटना देशभर दर्ता भएका थिए । तीमध्ये १२९ घटना ओकिनावा, ६७ घटना कानागावा र ३४ घटना टोकियोमा भएका थिए ।

प्रतिवेदनले अमेरिकी सैन्य अड्डाहरूको उपस्थितिका कारण स्थानीय समुदायले ठूलो भार वहन गर्नुपरेको र त्यससँग सम्बन्धित आपराधिक घटनाको समस्या समाधान गर्न जापान तथा अमेरिकाका सरकारले प्रभावकारी कदम चाल्न नसकेको उल्लेख गरेको छ ।

जापानको कुल भूभागको करिब ०।६ प्रतिशत मात्रै क्षेत्रफल ओगटेको ओकिनावामा देशभरका अमेरिकी सेनाका विशेष प्रयोगका सैन्य सुविधा तथा संरचनामध्ये करिब ७० प्रतिशत रहेका छन् । यसले अमेरिकी सैन्य उपस्थितिको भार ओकिनावामा असमान रूपमा केन्द्रित रहेको देखाउँछ ।

प्रतिवेदनअनुसार, ओकिनावामा अमेरिकी सैन्य सम्बद्ध व्यक्तिहरू संलग्न आपराधिक घटनाको संख्या सन् २०२५ मा १०१ पुगेको थियो । सन् २००३ पछि पहिलोपटक वार्षिक घटना संख्या १०० नाघेको हो । त्यस्तै, देशभर दर्ता भएका यस्ता घटनामध्ये ओकिनावाको हिस्सा ६७।८ प्रतिशत पुगेको थियो, जुन सन् १९८९ यताकै उच्च हो ।

यसैबीच, अक्टोबर ४ मा ओकिनावा प्रहरीले फुतेन्मास्थित अमेरिकी मरिन कोप्र्सको हवाई सैन्य अड्डामा तैनाथ एक अमेरिकी मरिनलाई स्थानीय महिलाको लुटपाट तथा हत्या गरेको आशंकामा पक्राउ गरेको थियो । उक्त घटनापछि ओकिनावामा अमेरिकी सैन्य उपस्थितिलाई लिएर स्थानीय जनतामा रहेको असन्तुष्टि पुनः चर्किएको छ ।

प्रकाशित मिति: २५ आश्विन २०८३, आइतबार  १३ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।